नेविसङ्घद्वारा कालापानी र लिपुलेक समेटिएको नक्शा सार्वजनिक

नेविसङ्घद्वारा कालापानी र लिपुलेक समेटिएको नक्शा सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०७६ मंसिर २४ ।

भारतले नेपालीभूमि समेटेर नक्शा सार्वजनिक गरेपछि उत्पन्न राजनीतिक तरङ्गकाबीच विद्यार्थीले अतिक्रमित नेपाली भूमिसहितको नक्शा सार्वजनिक गरेका छन् ।

नेपाल विद्यार्थी सङ्घका नेता एवं ‘चिनौं सीमा, जोगाऔं माटो’ अभियानका संयोजक नवराज त्रिपाठीको अगुवाइमा काठमाडौँको वसन्तपुरमा सोमबार हजारौं विद्यार्थीले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्शा प्रदर्शन गरेका हुन् । अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले पर्याप्त पहल नगरेको आरोप लगाउँदै नेविसङ्घले वृहद प्रदर्शनसहित नक्शा सार्वजनिक गरेको हो ।

अभियानका संयोजक विद्यार्थी नेता नवराज त्रिपाठीले काठमाडौँका विभिन्न विद्यालयमा पुगेर नेपालको वास्तविक नक्शा बनाउन सिकाइएको जानकारी दिनुभयो । नेपालको भूमि मिचिदाँसमेत हजारौं नागरिकलाई आफ्नो देशको वास्तविक नक्शाबारे थाहा नभएको भन्दै त्रिपाठीले आम नागरिकलाई देशको भूमि चिनाउन अभियान गरिएको पनि जानकारी दिनुभयो ।

नेविसङ्घका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले गुमेको भूमि फिर्ता गराउने अभियानमा नेपाल विद्यार्थी सङ्घ ७७ वटै जिल्लामा सक्रिय हुने भन्दै सीमा मिचिँदासमेत सरकार गम्भीर नदेखिएको आरोप लगाउनुभयो ।

विद्यार्थीलाई कुटपिट गरिएको भन्दै नेविसङ्घको विरोध

यसैविच नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ काठमाडौँ शाखाले कोहलपुर घटनाको विरोध गर्दै प्रदर्शन गरेको छ । नेविसङ्घ काठमाडौँ जिल्ला शाखाले आइतबार बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीमाथि गरेको दमनको विरोधमा पशुपति क्याम्पस चावहिल अगाडि प्रदर्शन गरेको हो ।

पशुपति क्याम्पसबाट शुरु भएको विरोध ¥याली चावहिल चोक परिक्रमा गरेर पशुपति क्याम्पसमा आएर सभामा परिणत भएको थियो । कार्यक्रममा नेविसङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्यले कोहलपुरमा प्रहरीको दमनबाट घाइते भएका विद्यार्थीलाई सरकारले निःशुल्क उपचार गर्नुपर्ने बताउनुभयो । “विद्यालयको पोसाक लगाएका विद्यार्थीमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

आइतबार बिहान ट्रकले ठक्कर दिएर कक्षा ७ मा अध्ययनरत प्रकृति चन्द गम्भीर घाइते भएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रेका थिए । ट्रकको ठक्करबाट गम्भीर घाइते चन्दको हाल ललितपुरको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

Skip This
Skip This
Logo