रेल चलाउन अब छिट्टै जनकपुर आउँछुः प्रधानमन्त्री ओली

रेल चलाउन अब छिट्टै जनकपुर आउँछुः प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा निर्वाचन आयोग अगाडि बढिसकेकाले निर्वाचन एक दिन पनि तलमाथि नसर्ने बताएका छन् । धनुषा, मिथिला नगरपालिका वडा नं ७ ढल्केवरमा सङ्घीय सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्मित नेपालको पहिलो ४०० केभी सबस्टेशन तथा विश्व बैंकको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको २२०÷१३२ केभी सबस्टेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “प्रदेश नं २ मा बैशाख १७ गते नै चुनाव हुने भएकाले चुनावको तयारीमा लाग्न आह्वान गरे ।

प्रधानमन्त्री ओलीले सही, राम्रा र नयाँ कामको शुरुवात गर्नका लागि पुरानो परम्परा तोड्नुपर्ने बताउँदै पशुपतिनाथमा १४१ किलोको सुनको जलहरी हालिदिने भनेपछि परम्परा बिग्रने भयो भनेर केही मिडियाले समाचार लेखेकामा गुनासो गरे । उनले भने, “पशुपतिमा पहिले जस्तै चाँदीकै जलहरी हाल्नुपर्ने भनेर आएको गुनासो गर्नेसँग म प्रश्न गर्न चाहन्छु, तपाईंको बुवा किसान भएर हलो जोत्नुहुन्थ्यो, तपाईँ किन पत्रकार बन्नुभयो ? किसान नै भएर खेतीपाती गरेको भए पो परम्परा बाँच्थ्यो । मेरो बुवा पनि किसान हुनुहुन्थ्यो तर म प्रधानमन्त्री भएँ । त्यसैले नयाँ र राम्रा कामका लागि परम्परा भत्काउनुपर्छ ।”

प्रधानमन्त्री ओलीले तराई –मधेशमा केही समूहले आफूलाई मधेसविरोधी भनेर प्रचार गरिएकामा पनि आपत्ति व्यक्त गरे । “केपी ओलीलाई मधेश विरोधी भनेर प्रचार गर्नेहरुले ती मधेशप्रेमी मधेशका गरीब, विपन्न दलित समुदायका डोम, चमार, दुसाध र खत्वेका बच्चाबच्चीलाई काखमा बोक्न सक्नुहुन्छ ? सक्नुहुन्छ भने लु हेरौंँ त कत्तिको मधेशप्रेमीहरु हुनुहुँदोरहेछ ।”

प्रधानमन्त्रीले आफ्नो सरकारले तराई–मधेशमा बाटो, ढल र सिंचाइका आयोजना बनाएको बताउँदै खेतलाई सिंचित गर्न पहाड छेडेर कोशी ल्याइने जानकारी दिए । उनले पुराना दिन याद गर्दै भने, “यही ढल्केवरबाट जनकपुर पुग्नका लागि खाल्डाखुल्डी सडकबाट दुई घण्टा लाग्थ्यो भने अहिले जनकपुर–ढल्केबर ६ लेनको चिल्लो सडक बनेको छ ।” उनलेले अब केही दिनपछि जनकपुर–जयनगर रेल सञ्चालन गर्नका लागि आफैँ आउने बताए । उनी थप्छन्, “तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठकै पालामा खरीद गरिएका दुई वटा रेल भित्रिसकेकाले अब छिट्टै सञ्चालन हुने तयारी हुँदैछ ।”

Logo