राजपासँग एकीकरण तथा सरकार छाड्ने वा नछाड्ने विषयमा छलफल गर्न संघीय समाजवादी पार्टी नेपालको संघीय परिषद बैठक बिहीबार काठमाडौंमा बस्दै छ।
पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेका अनुसार १ दिने बैठक दिउँसो १२ बजेदेखि प्रज्ञा भवनमा सुरू हुने छ ।
संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण भएदेखि अहिलेसम्मको अवस्थाबारे समेटिएको प्रतिवेदन बैठकमा संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले पेश गर्नेछन्।
समाजवादीले शुक्रबार र शनिबारका लागि केन्द्रीय परिषद बैठक डाकेको छ। परिषदका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बस्ने बैठक मुख्य गरी दुइटा एजेन्डामा केन्द्रित हुने समाजवादी पार्टीले जनाएको छ।
राष्ट्रिय जनता पार्टीसँग पार्टी एकीकरण गर्ने वा नगर्ने तथा ओली नेतृत्वको सरकारबाट बाहिरिने वा सरकारमा निरन्तरता दिने भन्ने विषय छलफलका प्रमुख एजेन्डा छन्।
आफूले सम्हालेको मन्त्रालयमा पनि प्रभावकारी काम गर्न नसकेको भन्दै समाजवादी पार्टीभित्र सरकारबाट बाहिरिनुपर्ने आवाज उठेको छ भने राजपाले पनि पार्टी एकीकरण गर्ने हो भने पहिले सरकार छाड्न समाजवादीसँग आग्रह गर्दै आएको छ।
उता प्रधानमन्त्री ओली समाजवादीका अध्यक्ष एवं सरकारका उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवसँग रुष्ट भएको बताइन्छ । सरकारमा बसेर सरकारकै विरोध गरेको भन्दै यादवसँग ओली असन्तुष्ट बनेका हुन्।































प्रतिक्रिया