जब सभापति देउवाले मुख छाडे…

जब सभापति देउवाले मुख छाडे…

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्रको विवादलाई लिएर नेपाली कांग्रेसका कार्यकर्ताहरूले आफ्नै पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका छन् ।

शुक्रबार पदाधिकारी बैठकमा सहभागी हुन सानेपास्थित पार्टी कार्यालय पुगेका देउवाविरुद्ध कांग्रेस कार्यकर्ताले जमेर नारा लगाए । कार्यकर्ताहरूले ‘विधान मिच्न पाइँदैन, टीके प्रथा चाहिँदैन, हनुमान नेता चाहिँदैन’ जस्ता नारा लगाएका थिए ।

नारा सुनेर आक्रोशित भएका देउवाले कार्यकर्ताहरूलाई ‘यो के गरेको ?’ भनेर हप्काएका थिए । उनले मुख नै छाडेर गाली गरेको विद्यार्थीहरूले आरोप लगाएका छन्।

‘नाराबाजी गरिरहेका हामीतिर औँला ठड्याउँदै देउवाले मा……,मु………,चि……..सहितका प्रयोग गरेर गाली गर्नुभयो’, ती विद्यार्थी नेताले भने, ‘त्यसपछि हामीले प्रतिरोध गर्दै पार्टी कार्यालय भित्रैसम्म नाराबाजी गर्दै गयौँ।’

आगामी मंसिर १४ गते देशका विभिन्न ठाउँमा हुने उपनिर्वाचनका लागि उम्मेदवार तोक्ने, भ्रातृ संगठनको विवाद समाधान गर्ने लगायतका एजेण्डामा छलफल गर्न शुक्रबार दिउँसो १ बजेका लागि पदाधिकारीहरूको बैठक बोलाइएको थियो । तर, कार्यकर्ताहरूको नाराबाजी र विरोधपछि तोकिएको समयमा बैठक हुन सकेन ।

नेविसंघभित्र उमेर विवादले उग्र रूप लिएको छ । नेता कृष्ण सिटौला पक्षधर कार्यकर्ताहरूले ३२ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई नेविसंघको नेतृत्वमा ल्याइए आमरण अनसन बस्ने चेतावनी दिइआएका छन् ।

Logo