नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसद मोहम्मद अफताब आलममाथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धानमा सघाउने बताएका छन् ।
भक्तपुरको बोडेमा शुक्रबार सम्पन्न पार्टीको एक कार्यक्रममा देउवाले १२ वर्ष पुरानो घटनामा आलमलाई पक्राउ गरी सरकारले कांग्रेसविरूद्ध षड्यन्त्र गरेको बताएका थिए । त्यसपछि उनको चौतर्फी आलोचना भएको थियो ।
शनिबार विज्ञप्ति निकालेर देउवाले प्रस्टीकरण दिएका छन् । उनले विज्ञप्तिमा भनेका छन् –‘कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष साबित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्छ नै । १२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ ।’
देउवाले आफ्ना धारणाले उत्पन्न गरेको अन्यौल र अस्पष्टता चिर्न विज्ञप्ति निकालेको उल्लेख गर्दै भनेका छन्– ‘कानुनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कसैमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन ।’
देउवाले आलममाथिको मुद्दामा दबाबमुक्त रहेर अनुसन्धानमा सघाउने पनि बताउँदै भनेका छन्– ‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो स्पष्ट मान्यता म सार्वजनिक रूपले प्रस्ट्याउन चाहन्छु ।’
आलमविरूद्ध २०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका मानिसलाई जिउँदै इँटाभट्टामा पोलेर मारेको आरोप छ । प्रहरीले त्यही आरोपमा उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।





























प्रतिक्रिया