काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको एउटा अभिव्यक्तिप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिको कुराले ‘आफ्नो चित्त नदुखेको’ बताएका छन्। राष्ट्रपतिको अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा विभिन्न खाले टीकाटिप्पणी भइरहेका बेला पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले चित्त नदुखेको बताएका हुन् ।
सभापति देउवाले राष्ट्रपतिको कुरालाई ‘सामान्य रूपमा’ लिएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । सामाजिक सञ्जालमा जसरी टीकाटिप्पणी भइरहेको सभापति देउवाले त्यसरी चित्त नदुखाएको उनको भनाइ छ ।
काठमाडौंस्थित राष्ट्रिय सभागृहमा शुक्रवार गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक विभूषण तथा अभिनन्दन कार्यक्रममा राष्ट्रपति भण्डारीले देउवाले बोलेको केही कुरा पनि नबुझेको प्रतिक्रिया दिएकी थिइन् । उक्त अभिव्यक्तिको चौतर्फी टिकाटिप्पणी भइरहेका बेला देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सामाजिक सञ्जालमा एकथरीले देउवाको बोलीमा हुने अस्पष्टतालाई लिएर राष्ट्रपतिले होच्याएको तर्क गरेका छन् भने अर्कोथरीले राष्ट्रपतिले बोलेका कुरालाई गलत रूपमा अर्थ्याइएको प्रतिक्रिया दिइरहेका छन् ।
शुक्रवारको कार्यक्रमलाई राष्ट्रपति भण्डारीले नेपाली कांग्रेस सभापति देउवापछि सम्बोधन गरेकी थिइन्। सम्बोधनको क्रममा उनले भनिन्, ‘यो मञ्चमा वक्ताले बोलेको केही बुझिँदोरहेनछ। नेताहरू जोसिएर बोल्नुभयो। फ्लोरबाट एकदम स्वागत भयो, ताली बज्यो। राम्रो बोल्नुभएको होला भन्ने चाहिँ लाग्यो।’
राष्ट्रपति भण्डारीले त्यति भनेपछि दर्शकदीर्घाबाट हाँसोको फोहरा फुट्यो। अनि राष्ट्रपति पनि मुसुक्क हाँसेको सार्वजनिक भएको भिडिओमा देखिन्छ।
त्यसपछि उनले भनिन्, ‘तर के बोल्नुभयो भन्ने कुरा चाहिँ मैले आमरूपमा बुझिनँ।’ पूर्ववक्ताले बोलेका कुरा आफूले नबुझ्नुमा मञ्चको व्यवस्थापनसम्बन्धी समस्या भएको हुन सक्ने राष्ट्रपतिले बताइन्। आफ्नो कानतिर हात लग्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘कान सुनिएन, यहाँ बुझिएन। त्यसैले यहाँहरूले के बोल्नुभयो भन्ने कुरा अब मिडियाबाट थाहा पाइएला।’
यी सबै भनिरहँदा राष्ट्रपति भण्डारीले कहीँ कतै पनि नेता देउवाको नाम उल्लेख गरेकी थिइन् । तर सामाजिक सञ्जालमा टिकाटिप्पणी गर्नेले देउवाप्रति लक्षित गरेर अभिव्यक्ति दिएको प्रतिक्रिया जनाइरहेका छन् ।
राष्ट्रपति भण्डारीभन्दा पहिला कार्यक्रमलाई सम्बोधन गरेका कांग्रेस सभापति देउवाले विभिन्न विषयमा सरकारको आलोचना गरेका थिए। उनले ऐन तथा विनियमहरू ल्याएर वर्तमान सरकारले संविधानको मूलभूत मर्ममाथि नै प्रहार गर्न खोजेको आरोप लगाएका थिए ।





























प्रतिक्रिया