काठमाडौं ।
नेकपाको प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठक २ घण्टा पर सरेको छ । यस अघि आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउसो १ बजेका लागि सारिएको हो ।
बैठकमा पार्टी आधिकारिकता सम्बन्धी निर्वाचन आयोगमा गरिएको दाबी र जारी आन्दोलनबारे छलफल गर्ने तयारी छ।
सो समूहका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापीरुपमा गरिएको जनसभा तथा प्रदर्शन, भावी कार्यक्रम र कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको हो ।
बैठक बबरमहलस्थित एक पार्टी प्यालेसमा बस्ने कार्यसूची छ । नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक गत पुस ७ देखि ९ गतेसम्म बसेको थियो ।
यसैबीच नेकपाको सो समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार माइतीघर मण्डलमा शान्तिपूर्ण धर्ना दिएको थियो । धर्नामा अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत विघटित प्रतिनिधिसभाका सदस्य एवं नेता तथा कार्यकर्ताको सहभागिता थियो ।





























प्रतिक्रिया