नेकपाको आधिकारिकता अब निर्वाचन आयोगबाट मात्रै

नेकपाको आधिकारिकता अब निर्वाचन आयोगबाट मात्रै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले मंगलबार केन्द्रीय समिति पुनर्गठन गरी निर्वाचन आयोगमा निवेदन दियो। केही घण्टामै अर्का अध्यक्ष पुष्पकमल दाहाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई अध्यक्षबाट हटाएको घोषणा गर्‍यो। दुई चिरामा विभाजित नेकपाका दुवै समूहले संस्थापन र वैधानिक भएको दाबी गरेका छन्। संस्थापनको मान्यता पाउने पक्षले चुनाव चिह्न सूर्य पनि पाउने भएकाले दुवै पक्षले आधिकारिकताका लागि जोडबल गरेका छन्।

अब आयोगले नै कसलाई नेकपाको आधिकारिकता दिने भन्ने विवादको निरूपण गर्नुपर्ने भएको छ। निर्वाचन आयुक्त नरेन्द्र दाहालले सम्बन्धित पार्टीको विधान, दल दर्ता ऐन र अन्य कानुन हेरेर आयोगले पार्टी आधिकारिकताको निर्णय गर्ने गरिएको जानकारी दिए। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ओली पक्षको निवेदन मंगलबार प्राप्त भएको जानकारी दिए।

ओली समूहले मंगलबार केन्द्रीय समिति पुनर्गठन गरी नामावलीसहितको निवेदन आयोगमा पेस गरेको हो। उक्त समूहको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मौजुदा ४ सय ४७ सदस्यीय केन्द्रीय समितिमा ५ सय ५६ जना थप गरिएको जानकारी दिए। १ सय ९६ जना थप्न बाँकी रहेको थापाले जनाए। पार्टी अध्यक्ष, महासचिव र माइन्युटसहित आफ्नो पक्षको केन्द्रीय समिति पुनर्गठन गरिएको पत्र निर्वाचन आयोगमा पठाइएको ओली पक्षका नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ४ सय ४७ सदस्यीय केन्द्रीय समितिमा ३ सय १५ सदस्य आफ्नो पक्षको बैठकमा उपस्थित भएको दाबी गरेको छ।

बहुमतभन्दा बढी सदस्यको उपस्थितिको बैठक नै आधिकारिक हुने भन्दै उक्त समूहले नेकपाको संस्थापन पक्ष आफू भएको दाबी गरेको छ। बबरमहलस्थित कार्की ब्यांक्वेटमा बसेको दाहाल–नेपाल समूहको बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ। उक्त समूहले पुस ५ गतेको स्थायीसमिति बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय भएको माइन्युटसहितको पत्र सोमबारै निर्वाचन आयोगमा बुझाइएको दाबी गरेको छ।अन्नपूर्णबाट

Logo