काठमाडौं ।
निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अदालतबाट विघटन भएको संसद पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।
मन्त्रालयमा आयोजित औपचारिक विदाई कार्यक्रममा बोल्दै भट्टराईले संवैधानिक अंगहरु स्वतन्त्र रहेको अवस्थामा संसद पुर्नस्थापना हुने विश्वास व्यक्त गरेका हुन् । लोकतान्त्रिक प्रकृयामा आघात पुगेका कारण आफूसहितका मन्त्रीहरुले सामूहिक राजीनामा दिएको उल्लेख गर्दै उनले भने, ‘‘यसलाई ट्रयाकमा ल्याउने मलाई विश्वास छ । यदि यो देशका संवैधानिक अंगहरु स्वतन्त्र छन् विवेक पुर्याउँछन् । त्यहाँका मान्छेहरु ठिक छन् भने । शतप्रतिशत भन्दा पनि बढी विश्वासका साथ भन्छु संसद पुर्नस्थापना हुन्छ । मुलुकप्रति संविधानप्रति जवाफदेही छन् भने शतप्रतिशत संसद पुर्नस्थापना हुन्छ, हुनुपर्छ । त्यो नै हाम्रो लोकतन्त्रको विजय हुन्छ । संविधानको रक्षा हुन्छ ।’’
भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गर्दा आफूहरुले रोक्न धेरै प्रयास गरेपनि सम्भव नभएको बताए । प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक रहेको उल्लेख गर्दै उनले भने, ‘‘संविधान पल्टाएर हेर्दा संवैधानिक नै छैन । कानून र संविधानको हिसाबले मेल खाँदैन । राजनीतिक हिसाबले राजनीतिक मूल्यलाई बोकेको छैन । जुनसुकै कारणले भएपनि यो अलोकतान्त्रिक नै हो । अन्य बाटोहरु पनि थिए । असंवैधानिक काम गर्न नपर्ने थियो, गर्नुभयो । दुःखी छौँ ।’’
भट्टराईको विदाइमा मन्त्रालयका सचिव यादव कोइरालाले नेपाली ढाकाटोपीका साथै फुलगुच्छा र मायाको चिनो दिएका थिए । मन्त्रालयका अन्य कर्मचारी, युनियन कर्मचारी संघठनका पदाधिकारी लगायतका व्यक्तित्वहरुले समेत मन्त्री भट्टराईलाई स–सम्मान विदाइ गरेका छन् ।
गत आइतबारको विकसित राजनीतिक घटनाक्रमसँगसँगै मन्त्री भट्टराईले हिजै आफ्नो राजीनामा घोषणा गरेका थिए ।





























प्रतिक्रिया