हाम्रो पुस्ताका प्रधानमन्त्री गगन थापा नै हुन्ः विश्वप्रकाश शर्मा

हाम्रो पुस्ताका प्रधानमन्त्री गगन थापा नै हुन्ः विश्वप्रकाश शर्मा

केन्द्रबिन्दु
0
Shares

झापा। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले झापाको मेची पुलनजिकबाट नेपाली काँग्रेसको संवाद यात्रा सुरु गरेका छन्। थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुवात गरेको बताएका हुन्।

यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयास स्वरुप यात्रा आरम्भ गरेको बताए। उनले यो यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियान भएको स्पष्ट पारे । महामन्त्री थापाले आफूहरु भुँई मान्छेको प्रतिनिधि भएको जिकिर गर्दै पार्टीप्रतिको गुनासो सुन्न र आम समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य रहेको बताए।

महामन्त्री थापाले यात्रा आरम्भ गर्नुअघि मेची क्याम्पस परिसरमा रहेको सहिद राम थापाको शालिकमा माल्यार्पण गर्नुका साथै क्याम्पसका शिक्षक, विद्यार्थीको समस्या बुझ्ने काम, प्रादेशिक अस्पताल भद्रपुरको नयाँ भवनको अवलोकनलगायत गरिएको बताए।

कार्यक्रममा पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले यात्राले जनताको दुःख, दर्द र मर्मलाई बुझ्नुका साथै आफूले गरेका कमीकमजोरी पत्ता लगाउनसमेत मद्दत गर्ने बताए। पार्टीलाई बलियो बनाउन कांग्रेसलाई बदल्नु आजको आवश्यकता रहेको उनको भनाइ थियो।

शर्माले थापालाई प्रधानमन्त्री बनाउने पनि दोहोर्याए । महामन्त्री शर्माले भने, ‘हाम्रो पुस्ताबाट गगन थापा नै प्रधानमन्त्री हुने हो । प्रधानमन्त्री हुने मान्छे जनताका कुरा सुन्न संवाद यात्रामा निस्कनु भएको छ । यसले नयाँ सन्देश प्रवाह गर्नेछ।’

समुदायमा काँग्रेस अभियानअन्तर्गतको यात्रा शुभारम्भ कार्यक्रममा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य प्रदीप पौडेल, कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापालगायत सहभागी थिए। काँग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी यही माघ १२ देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गरेको हो।

महामन्त्री थापाले शनिबार नै झापा चोकमा चिया संवाद, कञ्चनश्रीमा हात्ती प्रभावित क्षेत्रको अवलोकन, कृषक समूहसँग संवाद गर्ने, झापा बजारमा खुल्ला संवाद गर्ने कार्यक्रम रहेको छ। संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ। संवाद यात्रा माघ २६ गतेसम्म चल्ने नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले बताए।

Skip This
Skip This
Logo