हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारीमा जुट्यो सरकार, सुन तस्करी गोरेसँग लिइयो बयान [भिडियाेसहित]

हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारीमा जुट्यो सरकार, सुन तस्करी गोरेसँग लिइयो बयान [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

‘डीपीआर आतङ्क’बाट मुलुकलाई बाहिर निकाल्न आवश्यक छः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘डीपीआर आतङ्क’बाट मुलुकलाई बाहिर निकाल्न आवश्यक रहेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति लामिछानेले भने, ‘समय र लागतमात्र नभएर गुणस्तर हेर्ने हामीले कहिले हो ? डीपीआर बनाउने भनेपछि त्यसमा त पैसा निस्कन्छ । यो डीपीआर आतङ्कबाट मुलुकलाई बाहिर निकाल्नपर्यो । कस्ता कस्ता राष्ट्रिय गौरवको आयोजनामा कपि पेस्ट भएको सुनेका छौं । डीपीआर आतङ्कबाट बाहिर निस्केर साच्चै अनुगमन र निर्माणको काममा कहिले प्रवेश गछौं ?’

सुनको अवैध पैठारीका योजनाकारमध्ये एक चूडामणि उप्रेती ‘गोरे’सँग बयान लिइयो
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले बहुचर्चित साढे ३३ किलो सुन तस्करीका योजनाकारमध्ये एक चूडामणि उप्रेती ‘गोरे’सँग बुधबार बयान लिएको छ । केन्द्रीय कारागार सुन्धाराभित्र कैद सजाय काटिरहेका साढे ३३ किलो सुन प्रकरणका आरोपी ‘गोरे’लाई आयोगले सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा रहेको कार्यालय बोलाएर बयान लिएको हो । गत असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित उक्त आयोगले गोरेसँग लिएको बयानको विस्तृत विवरण खुलाएको छैन।

वर्तमान गठबन्धनका कारण अहिले देशमा ग्रहण लाग्योः केपी ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण अहिले देशमा ग्रहण लागेको टिप्पणी गरेका छन् । बुधवार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यहाँ त आठ, १० वटा गठबन्धनेहरु छन्, एमालेलाई छेक्न । एमालेलाई ग्रहण लगाउनका लागि आठ दश वटा एक ठाउँ ठोक्किएर आएका छन् । देश बनाउने कुरा सुन्नुभएको छ उनीहरुबाट । गठबन्धन जोगाउने भन्छन् । देश बनाउने होइन, गठबन्धन जोगाउने । अब ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्छ । यदी गम्भीर भएन भने देश बर्बाद हुन्छ ।’

मन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन
चितवन बागमती प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । चितवनको गैँडाकोट नगरपालिका–५ कालीगण्डकी चोकमा आज पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४६प ७७५९ नं को मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग१ख ८५४७ नं को जन्ती बोकेको बसले ठक्कर दिँदा ६७ वर्षीय पौडेलको निधन भएको हो। पौडेल विद्यार्थी राजनीति गर्दै पार्टीको राजनीतिमा आएका थिए। विसं २०३६ मा उनी विद्यार्थी नेता हुँदा वनारसबाट बीपी कोइरालाको सन्देश लिएर नेपाल आएका थिए।

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि सम्भाव्यता अध्ययन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई दशक बढी समयदेखि बन्द भएको रूग्ण अवस्थाको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययनको बुधबार ब्रिफिङ लिएका छन् । सेनाको गरेको सम्भाव्यता अध्ययनले उद्योग सञ्चालन गर्न सकिने अवस्थामा रहेको र त्यसका लागि १ अर्ब ९३ करोड लागत लाग्ने प्रारम्भिक अनुमान सहितको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश गरेको छ । प्रतिवेदनमा उद्योग पुनः सञ्चालनका लागि रू एक अर्ब ९३ करोड लागत लाग्ने र वार्षिक सञ्चालन खर्च रू. ७८ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । उद्योग पुनः सञ्चालन गर्दा ९ वर्षपछि लागत प्रतिस्थापन गरी उद्योग नाफामा जाने कार्यदलको निष्कर्ष छ।

गैरकानुनी सम्पत्ति आर्जन कसुरमा नेपाल टेलिकमका पूर्वकार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका विकल पौडेल थप सात दिन थुनामा
गैरकानुनी सम्पत्ति आर्जन कसुरमा पक्राउ परेका नेपाल टेलिकमका पूर्वकार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रको भ्रष्टाचारमा मुछिएका विकल पौडेललाई अदालतले थप सात दिन थुनामा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले उनीहरू दाजुभाइलाई थुनामा राख्न अनुमति दिएको हो । उनीहरू यही १० माघमा पक्राउ परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई तीनकुने र मण्डिखाटारस्थित घरबाट पक्राउ गरेको थियो ।

मुगुमा इन्फ्लुएन्जा फैलिएको पुष्टि
मुगुको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ पुरुमुरुमा तीन जनाको ज्यान जाने गरी फैलिएको रुघाखोकी इन्फ्लुएन्जा भएको पुष्टि भएको छ । सोरु गाँउपालिका–६ का पुरुमुरु र जिमा गाउँमा डेढसाता अघिदेखि फैलिएको रुघाखोकीबाट तीन जनाको मृत्यु र एक सय ५० जना सिकिस्त भएका थिए । थला परेकामध्ये एक सय ३५ जना गरिएको परीक्षणमा इन्फ्लुएन्जाको लक्षण देखिएको उनीहरुको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि भएको हो । इन्फ्लुएन्जा सङ्क्रमण पुष्टि भएपछि उक्त क्षेत्रमा थप अनुसन्धानका लागि त्यस क्षेत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमोलोजी महाशाखा, विश्व स्वास्थ्य सङ्गठनको टोली खटिएको छ ।

पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीलाई गाडी दिने तयारी
कर्णाली प्रदेशमा सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई पूर्व मुख्यमन्त्रीका हैसियतमा गाडी दिने तयारी प्रदेश सरकारले गरेको छ । स्रोतका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्ताव अनुसार पूर्वमुख्यमन्त्री शाहीलाई गाडी दिने तयारी गरिएको हो । यो विषयमा पुस २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको बताइएको छ । तर, कर्णालीमा पूर्व पदाधिकारीहरुलाई सवारी साधन दिने कानुनी व्यवस्था छैन ।

भुवन गिरीविरुद्ध वैवाहिक बलात्कार मुद्दा झिकाउन आदेश
सर्वोच्च अदालतले निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध दायर वैवाहिक बलात्कार मुद्दाको मिसिल झिकाउन उच्च अदालतको नाममा आदेश जारी गरेको छ । बुधवार कामु प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिल पोखरेलको इजलासले यस्तो आदेश गरेको हो । रुपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश भुवन गिरीविरुद्ध उनकै पत्नीले दायर गरेको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालतबाट थुनामा राख्नु नपर्ने आदेश भएको थियो । तर गिरीकी पत्नीले उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै सर्वोच्च अदालतसम्म पुगेकी थिइन् ।

सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा पाँच खर्ब ७३ अर्ब ६३ करोड २८ लाख ८४ हजार रुपैयाँ खर्च गर्यो
सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिनामा पाँच खर्ब ७३ अर्ब ६३ करोड २८ लाख ८४ हजार रुपैयाँ खर्च गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको २०८० साउनदेखि पुस मसान्तसम्मको खर्चको विवरणमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा सरकारको खर्च थोरै बढेको देखाएको छ । गत आर्थिक वर्ष २०७९/०८० को पहिलो ६ महिनामा सरकारको खर्च पाँच खर्ब ७६ अर्ब ३५ करोड ९८ लाख ११ हजार रुपैयाँ रहेको थियो ।

चौथो दिन दोहोरो अङ्कले घट्याे सेयर बजार
यो साता कारोबारको लगातार तीन दिनसम्म उकालो लागेको नेप्से परिसूचक आज चौथो दिन भने दोहोरो अङ्कले घटेको छ । आज परिसूचक २१ दशमलव ६७ अङ्कले घटेर दुई हजार ९७ दशमलव ९३ को विन्दुमा कायम भएको हो । आज तीन सय १३ कम्पनीको एक करोड ४७ लाख ७७ हजार एक सय १० कित्ता शेयर ९५ हजार छ सय ४५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार ५७ बराबरको कारोबार भएको छ ।

इमरान खान र उनकी पत्नीलाई १४ वर्षको जेल
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई राज्यका उपहारहरू अवैध रूपमा बिक्री गरेको अभियोगमा १४ वर्षको जेल सजाय सुनाइएको छ।भ्रष्टाचारका मुद्दाहरू सम्बोधन गर्दै आएको रावलपिन्डीको उत्तरदायित्व अदालतले बुधवार इमरान खान दम्पतीलाई १४ वर्षको जेल सजाय सुनाएको हो । त्यस्तै अदालतले उनीहरुलाई १० वषसम्म सार्वजनिक पदमा उम्मेदवार हुन अयोग्य साथै उनीहरूलाई प्रत्येकलाई सात सय ८७ मिलियन रुपैयाँ जरिवाना तिराएको छ ।

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबको लगातार आठौं जित
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा लगातार आठौं जित निकाल्ने क्रममा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई एक सय तीन रनको विशाल अन्तरले हराएको छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको पुलिस क्लबले निर्धारित ३७।३ ओभरमा अलआउट हुनुअघि दुई सय ४५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी प्रदेशले ३६।३ ओभरमा अलआउट हुनुअघि एक सय ४२ रनमात्र बनाउन सक्यो । जारी प्रतियोगितामा आफूले खेलेको सबै खेल जित्ने पुलिस एकमात्र टोली हो । तर, नवौँ खेल खेलेको लुम्बिनी प्रदेशको भने यो आठौँ हार हो ।

Skip This
Skip This
Logo