रवि विरुद्ध जाहेरी दर्ता गर्न मानेन प्रहरीले, पशुपतिको जग्गा हडप्नेविरुद्ध एक्सनमा उत्रिए बालेन[भिडियाेसहित]

रवि विरुद्ध जाहेरी दर्ता गर्न मानेन प्रहरीले, पशुपतिको जग्गा हडप्नेविरुद्ध एक्सनमा उत्रिए बालेन[भिडियाेसहित]

केन्द्रबिन्दु
42
Shares

रवि लामिछानेविरुद्ध सहकारी ठगीमा जाहेरी दर्ता गर्न प्रहरी आनाकानी
पोखराको सूर्यदर्शन सहकारी ठगीमा प्रतिनिधिसभा सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पीडितले दिएको जाहेरी दर्ता गर्न प्रहरीले आनाकानी गरेको पाइएको छ । लामिछानेसहित ८० जनाविरूद्ध जाहेरी दिन पीडितहरूको समूह गत माघ ९ गते जिल्ला प्रहरी कार्यालय कास्की पुगेका थिए। प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि रित्तै फर्किनुपरेको सूर्यदर्शन बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए। सहकारी ठगीमा लामिछानेको संलग्नता देखिएकोले अनुसन्धान गर्नुपर्ने पीडितहरूको भनाइ छ। लामिछानेले भने सहकारीमा आवद्ध नभएकाले ठगीमा आफ्नो संलग्नता नभएको बताउँदै आएका छन् ।

वीरगन्जका मेयर राजेशमान सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालयले अनुसन्धान अघि बढायो
वीरगन्जका मेयर राजेशमान सिंहले झुटो विवरण पेश गरी हुँदै नभएको छोरीलाई बाबु बनेर नागरिकता दिलाएको विषयमा जिल्ला प्रहरी कार्यालयले समेत अनुसन्धान अगाडि बढाएको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालयलाई नागरिकता लिँदा पेश गरिएको अनुसूची फारम सहितका कागजातहरु पठाउन पत्राचार गरिसकेको छ । वीरगन्ज महानगरपालिका– ३ निवासी लियाकत अलीले रुबीना श्रेष्ठ र राजेशमान सिंह विरुद्धमा भुठा विवरण पेश गरी नागरिकता र राहदानी लिएको कसूरमा जाहेरी दिएका थिए ।

पशुपति क्षेत्र विकास कोषले भौतिक संरचना हटायो
पशुपति क्षेत्र विकास कोषले आराध्यदेव पशुपतिनाथ क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाउने भएको छ । कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचना हटाउने निर्णय गरेसँगै अहिले विकास कोषसहित काठमाडौँ महानगरको प्राविधिक टोली जग्गाको सिमाङ्कनसहित खोजी कार्यमा जुटेको हो ।

उपनिर्वाचन बारे रक्षामन्त्री पूर्णबहादुर खड्कासँग निर्वाचन प्रमुख दिनेश थपलियाले गरे छलफल
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले रिक्त विभिन्न पदको उपनिर्वाचनको बिषयमा छलफल गरेका छन् । हालसम्म रिक्त २५ पदमा हुने उपनिर्वाचनको बिषयमा सिंहदरबारस्थित रक्षामन्त्रालय पुगेर आयुक्त थपलियाले भेटवार्ता गरेका हुन्।प्रतिनिधि र प्रदेशसभा सदस्य, स्थानीय तहको उपनिर्वाचनका लागि आयोगले सरकारसँग परामर्श गर्ने संवैधानिक व्यवस्था छ। आयोगले यसअघि आगामी वैशाखभित्र उपनिर्वाचन गर्न सक्ने भन्दै सरकारलाई सुझाव दिइसकेको छ।

अधिवेशनमा कुटाकुट भएपछि अध्यक्ष केपीले दुबै पक्षलाई पार्टी कार्यालय बोलाए
नेकपा एमाले धादिङ जिल्ला कमिटीको अधिवेशनमा पार्टीकै दुई गुटबीच कुटाकुट भएपछि नेताहरूलाई काठमाडौं बोलाएर उक्त घटनाबारे अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ लिएका छन् । अध्यक्ष ओलीले बागमती प्रदेश इन्चार्ज गुरू बराल, प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, सचिव नवराज सिलवालसहितका नेतालाई पार्टी कार्यालय च्यासल बोलाएर छलफल गरेका हुन् । शुक्रबारबाट सुरू भएको एमाले धादिङको अधिवेशनमा अध्यक्ष मण्डलको अध्यक्ष कसलाई बनाउने भनेरै भएको विवाद कुटाकुटमा परिणत भएको थियो । जसमा अनेरास्ववियुका कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको थियो।

डेडिकेटेड र ट्रंक लाइन विवादमा छानबिन गरेका पूर्वन्यायाधीश गिरिशचन्द्र लालले एक लाख पाउने

डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश गिरिशचन्द्र लालले एक लाख पारिश्रमिक पाउने भएका छन् । सरकारले जाँचबुझ आयोग ऐन, २०२६ को दफा तीनको उपदफा दुई बमोजिम गठित आयोगका अध्यक्ष लालले आयोगको अध्यक्ष भएर एक महिना काम गरे बापत एक लाख पारिश्रमिक उपलब्ध गराउने भएको हो । उक्त सुविधासँगै उनलाई आयोगको कार्य अवधिभरका लागि एक थान सवारी साधन पनि उपलब्ध गराउने व्यवस्था गरिएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४लाई संशोधन गर्ने तयारी सुरु
सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४लाई संशोधन गर्न तयारी सुरु गरेको छ । करिब साढे ६ वर्षको अभ्यासका क्रममा ऐनमा देखिएका अस्पष्टता हटाउने र कतिपय छुटेका विषयहरुलाई समेट्ने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ऐनमा संशोधनको लागि सुझाव लिन थालेको हो । मन्त्रालयका सहसचिव सुमन दाहाल स्थानीय सरकारलाई बलियो, अझ प्रभावशाली ढंगले काम गर्न स्पष्ट रुपमा कार्यक्षेत्र र अधिकार दिन ऐनको संशोधनबारे छलफल थालिएको मन्त्रालयका सहसचिव सुमन दाहालको भनाइ छ ।

राष्ट्रियसभाको निर्वाचन आगामी फागुन २९ गते
राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी फागुन २९ गते हुने प्रस्ताव गरिएको छ । राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले शुक्रबार स्वीकृत गरेको राष्ट्रियसभाको सम्भावित कार्यतालिका अनुसार २९ गते अध्यक्षको निर्वाचन गर्ने प्रस्ताव गरिएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको पदावधि फागुन २० गते सकिँदैछ । त्यसपछि निर्वाचनबाट अध्यक्ष चुनिन लागेको हो ।

सङ्घीय संसद्को तेस्रो अधिवेशनको तयारी पूरा
भोलिदेखि सुरु हुने सङ्घीय संसद्को तेस्रो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानामगरसहितको टोलीले बैठक कक्षको अवलोकन गरेका हुन् । सो क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभामुख घिमिरेले संसद् बैठकको सम्पूर्ण तयारी पूरा भएको र हिँउदे अधिवेशनलाई प्रभावकारी तुल्याउन नयाँ समयसारिणी बनाएर काम गर्ने अठोट गरिएको बताएका छन् ।

खराब कानुनहरुविरुद्ध स्वर्णिम वाग्ले आक्रामक प्रस्तुत हुने
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले सोमबारदेखि सुरु हुने संघीय संसदको बैठकमा खराब कानुनहरुविरुद्ध पार्टी आक्रामक रुपमा प्रस्तुत हुने बताएका छन् । आइतबार सिन्धुपाल्चोकको मेलम्ची बजारमा मेलम्ची आयोजनाको दबाब यात्राको उद्घाटन कार्यक्रममा बोल्दै वाग्लेले भने ‘भोलिदेखि संसद सुरु हुँदैछ । त्यहाँ हामीले एउटा ठूलो तयारीका साथ खराब कानुनहरुका विरुद्ध जेहाद नै छेड्ने तयारी गरिरहेका छौं ।’

बागलुङ काठेखोला गाउँपालिकाका जनप्रतिनिधि आन्दोलमा उत्रिए
ट्रयाक खुलेको २५ वर्षसम्म सडकको अवस्था नसुध्रिएपछि बागलुङ काठेखोला गाउँपालिकाका जनप्रतिनिधि नै आन्दोलमा उत्रिएका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने गाउँपालिकाभित्रको २५ किलोमिटर सडक कालोपत्रेको माग गर्दै गाउँपालिका अध्यक्ष राजु थापासहितका स्थानीय बासिन्दाले आइतबार करिब ४ घण्टा मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका हुन् ।‘ट्रयाक खोलेको २५ वर्ष भइसक्दा पनि बाटोको अवस्था सुध्रिएन । पटकपटक डेलिगेसन गयौं, अरु आन्दोलन गर्दा पनि नभए पछि अध्यक्षज्यूकै नेतृत्वमा यो कदम चाल्न बाध्य भएको गाउँपालिका प्रवक्ता टीकासंगम विकको भनाइ छ ।

हुम्लामा हिमपात
हुम्लामा पुनःआज बिहानदेखि हिमपात भइरहेको छ । यस वर्ष जिल्लामा चौथोपटक हिमपात भएको हो । शनिबार दिउँसो घाम लागेको भए पनि राति एक्कासी मौसममा फेरबदल भई बाक्लो बादल लागेर आज बिहानदेखि हिमपात भइरहेको छ। बिहानदेखि हिमपात भइरहँदा सदरमुकाम सिमकोटमा एक इञ्च बढी हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा दुई इञ्च बढी हिउँ जमेको लिमी स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी गोखर भण्डारीले बताए ।

नेप्सेमा सामान्य अङ्कको गिरावट
यो साता कारोबारको पहिलो दिन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३१ अङ्कले घटेर दुई हजार ६१ दशमलव ७० को बिन्दुमा कायम भएको हो । आज विभिन्न कम्पनीका तीन सय सात कम्पनीको ९२ लाख ७२ हजार सात सय ८२ कित्ता शेयर ७० हजार सात सय ९० पटक खरिदबिक्री हु्ँदा रू तीन अर्ब २१ करोड ६७ लाख २७ हजार दुई सय २१ बराबरको कारोबार भएको छ ।

युरोपमा किसान आन्दोलित
जलवायु परिवर्तन नियमन सम्बन्धी नयाँ कानुन र कृषिसम्बन्धी पुरानो कानुनको विरोधमा युरोपमा किसानहरु आन्दोलित बनेका छन् । किसानहरुले युरोपेली संसदअघि प्रदर्शनका साथै मुख्य राजमार्गहरु अवरोध गरिरहेका छन् । आन्दोलनरत किसानहरुले यस पेशाबाट जीवन धान्न कठिन हुन थालेको भन्दै आफूहरुसँग अन्य विकल्प नरहेको बताएका छन् ।

यू–१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा भुटानमाथि नेपालको संघर्षपूर्ण जित
बंगलादेशको ढाकामा जारीसाफ यू–१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले जित निकालेको छ । आइतबार नेपालले भुटानमाथि संघर्षपूर्ण १–० गोलको जित निकालेको हो। नेपालको जितमा सेनु परियारले दोस्रो हाफमा गोल गरेकी थिइन्। चार टोली सहभागि च्याम्पियनसिपको पहिलो खेलमै नेपाल आयोजक टोली बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।सिंगल राउण्ड रोविनका आधारमा भइरहेको च्याम्पियनसिपमा लिगपछि शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् । त्यसैले शीर्ष दुईमा रहँदै फाइनल पुग्न नेपालका लागि आजको खेल महत्वपूर्ण हुनेछ ।

Logo