काठमाडौं,
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई कास्कीबाट उपनिर्वाचन लड्न प्रस्ताव गरेका छन् । केही दिन अघि गौतमलाई बालुवाटार बोलाएर ओलीले कास्कीमा चुनाव लड्न प्रस्ताव गरेका तर अहिले चुनाव लड्ने मुड छैन भनेर वामदेव गौतम फर्किएको गौतमनिकट स्रोतले जनाएको छ ।
रवीन्द्रको निधनपछि खाली भएको कास्की निर्वाचन क्षेत्रबाट चुनाव लडन् प्रधानमन्त्री ओलीले नेता गौतमलाई प्रस्ताव गरेका थिए । तर गौतमले रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराइलाई नै चुनाव लडाउनु पर्ने प्रस्ताव गरेर फर्केका थिए । ‘मलाई अहिले चुनाव लड्ने मुड छैन, विद्यार्थी राजनीति गरेकी विद्यालाई चुनाव लडाउँदा ठिक हुन्छ । उनले रवीन्द्रको राजनीतिक जीवनलाई साथ दिन आफ्नो राजनीतिक क्षमतालाई गुमनाम बनाएकी छिन्,’ गौतमले ओलीलाई जवाफ फर्काएका थिए ।
प्रधानमन्त्री ओलीले भने पार्टीले जिताउने पूरै कोसिस गर्छ, तपाई चुनाव लड्नुस् भन्दै प्रस्ताव गरेको स्रोतले बताएको छ । यसअघि काठमाडौं, डोल्पा, प्युठान लगायत जिल्लाबाट चुनाव लड्ने इच्छा व्यक्त गरे पनि पार्टीभित्र आन्तरिक समस्या बढ्दै गएपछि नेता गौतमले त्यता ध्यान नदिने बताउँदै आएका थिए । रवीन्द्र अधिकारीको निधनपछि नै कास्कीमा गौतमको चर्चा चलेको थियो तर उनले त्यतिबेला पनि रविन्द्रकै परिवारका सदस्यलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउँदै आएका थिए । बर्दियाबाट पराजित भएपछि गौतमलाई सांसद बनाउन पार्टीका नेताहरूले पटकपटक प्रयास गरे पनि असफल हुँदै आएका छन् ।
नागरिकबाट































प्रतिक्रिया