काठमाडौँ,
सत्तारूढ नेकपाले पार्टी एकतापछिको हरेक कमिटीको संगठनात्मक एकता र नेतृत्व चयन गर्दा नयाँ नयाँ विवाद झेल्दै आएको छ । केन्द्रीय कमिटी चयनपछि हरेक कमिटी निर्माणमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल विवादमा पर्दै आएका छन् ।
प्रदेश पदाधिकारी चयन लगायत पार्टीभित्रका हरेक संगठनात्मक एकताको निर्णय लिँदा नेतृत्वले विवाद झेल्नु परेको हो । पछिल्लो चरण स्कुल विभागको नेतृत्व टुंगो लगाउन अध्यक्षद्वयलाई निकै सकस परेको छ । नेकपा स्थायी समिति सदस्य भीम रावल पार्टी नेतृत्वले आफूले चाहेका व्यक्तिलाई नेतृत्वमा ल्याउन खोज्दा मतभेद भइरहेको बताउँछन् । उनले एकीकरण प्रक्रिया टुंगोमा नपुग्दा संगठनमा नकारात्मक असर परिरहेको बताए ।
‘पार्टी एउटा विधि, प्रणाली र प्रक्रियाबाट बलियो रूपमा अगाडि बढ्ने चरणमा नपुगिसकेको अवस्थाले अमुक–अमुक विभाग अमुक व्यक्तिको हातमा जाँदा अमुक कुरामा प्रभाव पर्न सक्छ भनेर अमुक व्यक्तिलाई लागेको हुन सक्छ । त्यसको अभिव्यक्तिका रूपमा अहिलेको मतभेद प्रकट भएको हुन सक्छ’, रावलले भने, ‘एकीकरण प्रक्रियामा विलम्ब हुनु राम्रो होइन । यसले पार्टीको संगठनात्मक काम र गतिविधिमा ज्यादै नकारात्मक असर पारेको छ ।’
अर्का स्थायी समिति सदस्य छविलाल विश्वकर्मा दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता प्रक्रियामा केही समस्या देखिनु स्वाभाविक रहेको बताउँछन् । ‘विलम्ब भए पनि एकता सम्बन्धी धेरै काम सकारात्मक ढंगले सम्पन्न भएका छन् । बाँकी काम पनि विलम्ब नगरी टुंग्याउनु पर्छ,’ विश्वकर्मा भन्छन्, ‘दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता भएकाले तलसम्मको एकता र नेतृत्व चयनमा केही समस्या आउनु स्वाभाविक हो । त्यस्ता समस्या नेतृत्वले छलफलकै आधारमा सर्वसम्मत टुंगोमा पुर्याइरहेकै छ ।’
अन्नपूर्णबाट































प्रतिक्रिया