विप्लव नेतृत्वको नेकपाले नुवाकोट, सिन्धुपाल्चोक, रौतहट लगायतका वडा कार्यालयमा बम विस्फोट तथा आगजनी गरेका छन् ।
नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयमा गएराति बम विस्फोट भएको छ । विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेका नष्ट भएका छन् ।
त्यस्तै, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० को बडा कार्यालयमा पनि बम विस्फोट भएको छ । त्यहाँ पनि पूर्ण रुपमा वडा कार्यालय ध्वस्त भएको बताइएको छ । कार्यालयका सम्पूर्ण सामाग्री सहित कम्युटरका जलेर खरानी भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, रौतहटको एक वडा कार्यालयमा पनि आगजनी भएको छ । चन्दपुर नगरपालिकाको गैंडाटारमा रहेको वडा कार्यालयमा गएराति १ बजे आगजनी गरेको हो ।
विप्लव नेतृत्वको समूहले गए राति नै मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् । मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा५ख १७३९ नंको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको उनले बताए।
यसैगरी हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ । हेटौँडाको थानाभ¥याङ, चौकीटोल र हुप्राचौर क्विक २० पार्टीप्यालेस नजिकै शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । सबै शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरिसकेको जनाइएको छ ।





























प्रतिक्रिया