नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले ५ वर्षसम्म अहिलेकै सरकारलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।
रिपोटर्स क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले केपी ओली नेतृत्वको सरकारका सबै पखेटाहरुमा खिया लागिसकेको दाबी पनि गरे । उनले प्रधानमन्त्री एक्लैले गर्न खोजेर मात्र नहुने भन्दै काम गर्ने वातावरण नरहेको बताए। ‘मन्त्री र आसेपासे खराब छन्। यहाँ त गर्छु भन्दा पनि काम गर्ने अवस्था नै छैन,’ उनले भने, ‘ओलीले निर्वाचनमा देखाएको राष्ट्रवाद पनि छर्लङ्ग भइसक्यो।’
कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका भण्डारीले भने, ‘ओलीजी धेरै बोल्नुहुन्छ, काम गर्नुहुन्न। संवैधानिक हिसाबले पनि सरकारको आयु ५ वर्ष भनिएको छ। अर्कातिर सरकारले सिन्को नभाँच्दा कांग्रेसलाई पनि त फाइदै हुन्छ ।’
भण्डारीले नेपालका नेताहरु भ्रष्टाचारमा लिप्त भएकोसमेत बताए। नेताहरुले भ्रष्टाचार नगरेको भए नेपाल धेरै राम्रो बनिसक्ने बताउँदै उनले भने, ‘भ्रष्टाचारका कारण दुई जना पुर्व कर्मचारीले त आत्महत्या गरे, अब राजनीतिक दलका नेताहरुले पनि आत्महत्या गर्ने दिन आउन सक्छ।’
कांग्रेसका धेरै नेताहरु भ्रष्टाचारमा जेल सजाय भोगे पनि नेकपाले खुलेआम भइरहेका भ्रष्टाचारलाई लुकाइरहेको बताउँदै भण्डारीले वाइडबडी, बालुवाटारको जग्गा, बूढीगण्डकी र एनसेल लगायतका काण्डका दोषीलाई कारबाही गर्नैपर्ने बताए ।





























प्रतिक्रिया