काठमाडौं महानगरपालिकाका मेयर बालेन साह गलत गर्ने कर्मचारीको बचाउ गरेको भन्दै वडाअध्यक्षहरुमाथि खनिएका छन् ।
मंगलबार साँझ सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘कर्मचारीबाट के गलत भएको हो भन्ने पनि थाहा छ ।कर्मचारी स्वयमले ‘मैले गलत गरेको हो’ भनेर लिखितरूपमा स्विकारेको पनि थाहा छ । यति हुँदा हुँदै पनि अब के गर्ने भनेर कार्यपालिकाबाट अगाडि बढाउन रोक्नुको अर्थ हो, वडाअध्यक्षज्युहरुको आफ्नो पार्टीको कर्मचारीलाई बचाउने खेल । यसलाई कर्मचारीको मनोबल के हुन्छ, मेयरले एकलौटी गर्न पाइदैन भन्ने जस्ता प्रश्नले छोप्न खोजिन्छ । साँच्चै भ्रममा हुनुहुन्छ भने निस्कनु होला । चोर भन्दा कसले खुट्टा तान्छ भन्ने जगजाहेर छ । चोर भन्दा झस्किएर आफ्नो खुट्टा तान्नेहरूप्रति हाम्रो शंका छ ।’
साथै मेयर बालेनले गलत कृत्यलाई कारबाही गर्दा भ्रष्ट, कमिसनखोर कर्मचारीहरूको मात्रै हो मनोबल खस्किने र स्वच्छ कर्मचारीहरूको मनोबल झन् उँचो हुने बताएका छन् । आफ्ना पार्टीका कर्मचारीलाई जे गरे पनि बचाउन जुन हदसम्म पनि जान सक्ने जनप्रतिनिधिहरूले साँच्चै स्थानीय सरकारको मर्म आत्मसाथ गर्न सकेको कसरी मान्ने ? वडाअध्यक्षहरुलाई उनकाे प्रश्न छ ।
‘आफ्ना पार्टीका कर्मचारीलाई जे गरे पनि बचाउन जुन हदसम्म पनि जान सक्ने जनप्रतिनिधिहरूले साँच्चै स्थानीय सरकारको मर्म आत्मसाथ गर्न सकेको कसरी मान्ने ? जनप्रतिनिधिको आवरणमा कांग्रेस, एमाले र माओवादीका पार्टी प्रतिनिधि रहेको किन नभन्ने ? यस्तो गलत प्रवृतिले बन्छ त काठमाण्डौ ? जनप्रतिनिधीहरुले जनताबाट म्यान्डेट लिएर आउँछन् । कर्मचारीहरू संविधान, ऐनकानुनको सीमामा बसेर जनप्रतिनिधीहरूलाई सहयोग गर्छन् । यो सम्बन्धलाई विश्वास र कानुनको पालनाले बलियो बनाउँछ, न कि जति भ्रष्ट भए पनि कर्मचारीले फाइल मिलाएर बचाइदिन्छन्, नेताले ढाकछोप गरिदिन्छन् भन्ने विचलनले ।’ उनले भनेका छन्, ‘स्विकारी स्विकारी गलत काम गर्ने कर्मचारीलाई जोगाउन सिंगो पार्टी लाग्छ भने यो भन्दा बिडम्बना अर्को के हुन्छ ? आशा गर्छु, कार्यपालिकामा छलफलका लागि ल्याइएको प्रस्ताव नै देखाएर एकलौटी निर्णय हो भन्दा लाज मान्ने जनप्रतिनिधीहरु देशभर आउन् । गलत गरिहालेछ, आफ्नै पार्टीको पर्यो, छोडिदिनुहोस् भन्ने खालका जनप्रतिनिधीहरू कहिँकतै नदेखिउन् ।’





























प्रतिक्रिया