काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक अघि शीर्ष नेताहरुले सहमति जुटाउन भेटघाटलाई तिब्र बनाएका छन् । यद्यपी कुनै सहमति भएको छैन ।
शनिबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार पनि भेटघाट भएको छ । तर उनीहरु आफ्ना अडानमा लचिलो भएका छैनन् । आजको बैठकमा पनि विवाद समाधान हुने सम्भावना भने कमै छ ।
शनिबार बिहानैदेखि नेताहरुको दौडधुप
पार्टीको आन्तरिक विवाद चर्किएका बेला शनिबार दिनभर पार्टीका विभिन्न नेताहरुलाई भेटेका प्रधानमन्त्री ओली साँझ राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए।
प्रधानमन्त्री ओलीले शनिबार बिहानैदेखि एकाएक आफ्नो सक्रियता बढाएका हुन् । बिहान १० बजे कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका उनी त्यस लगत्तै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट्न पुल्चोक पुगे।
ओली र गृहमन्त्री ‘बादल’ बीच एक्ला एक्लै भेटवार्ता भएको थियो । त्यस लगत्तै ओलीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङसँग पनि भेटघाट गरेका थिए ।
उता प्रधानमन्त्री ओली प्रचण्डलाई भेटेर खुमलटारबाट फर्किए लगत्तै अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पनि खुमलटार पुगेका थिए ।
यस अघि दुई अध्यक्षबीच भेटवार्ता हुँदै गर्दा उपाध्यक्ष बामदेव गौत्तम पनि खुमलटार पुगेका थिए । उनीहरुबीच भेटवार्ता सकिए लगत्तै माधव नेपाल खुमलटार पुगेका हुन् ।
दाहाल निवास पुगेका प्रधानमन्त्री ओली भने करिब साढे एक घण्टापछि त्यहाँबाट बाहिरिएका थिए । खुमलटारमा भने दाहाल र नेपालबीच छलफल भएको थियो । साँझ ओली राष्ट्रपति भेट्न शितल निवास गए।
यसरी एकाएक नेताहरु बीच भेटवार्ता हुनु लाई धेरै आशंकाका दृष्टिले हेरिएको छ । यद्यपी उनीहरु बीच के के विषयमा छलफल भयो भन्ने बारे ठोस कुरा भने सार्वजनिक भएको छैन ।
पार्टीभित्रको विवाद समाधानबारे यसअघि दर्जनौं पटक दुई नेताबीच भेटघाट भएको छ । शुक्रबार पनि ओली र प्रचण्डबीच छलफल भएको थियो ।
के के मा छ विवाद ?
नेकपाको स्थायी कमिटीको बैठक लम्बिएका कारण पूर्व निर्धारित पुस ५ गते (आज) बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक पुस १० गतेका लागि सारिएको छ । स्थायी कमिटी बैठक भने पुस ५ गते (आज) का लागि तय गरिएको छ ।
सो पार्टीको पछिल्लो सचिवालय बैठकले पार्टीभित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन स्थायी कमिटीमा लैजाने निर्णय गरेको थियो । मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित प्रस्तावपत्रका सम्बन्धमा शीर्ष नेताहरुबीच विवाद हुँदै आएको छ ।
नेकपाभित्र मन्त्रिपरिषदमा हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्यकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न भई अध्यक्षद्वयबीच लिखित आरोप–प्रत्यारोपपत्रको क्रम चलेको छ । शीर्ष नेताहरुको विवाद मिलाउन स्थायी कमिटी र केन्द्रीय कमिटीका सदस्य कतिसम्म सफल हुन्छन् भन्ने चासो पनि देखिएको छ ।
यो विवाद कायमै रहेका बेला सरकारले मंसिर ३० गते संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएपछि विवादले अर्को मोड लिएको हो । यद्यपी सरकारले त्यो अध्यादेश फिर्ता लिने बताए पनि विहिबार बसेको मन्त्रिपरिषद बैठकमा यसबारे कुनै छलफल पनि भएको छैन ।





























प्रतिक्रिया