जनताका मौलिक हक कार्यान्वयनका लागि सरकार प्रतिबद्ध छः उपप्रधानमन्त्री खड्का

जनताका मौलिक हक कार्यान्वयनका लागि सरकार प्रतिबद्ध छः उपप्रधानमन्त्री खड्का

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानमा लेखिएका जनताका मौलिक हक कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका जनताका मौलिक हक कार्यान्वयनतर्फ सरकार लागिरहेको बताए ।

“संविधानमा उल्लेख भएका जनताका मौलिक हक कार्यान्वयनका लागि राजनीतिक दलहरुको एकतावद्ध प्रयास आवश्यक छ”, आज सुर्खेतको गुर्भाकोटमा सामुदायिक आँखा उपचार केन्द्र (सर्जिकल) भवनको उद्घाटन गर्दै उनले भने ।

उपप्रधानमन्त्री खड्काले विकासको आकांक्षा र आवश्यकता समयअनुसार बढ्दै जाने बताए । उनले पूर्वाधार निर्माण गर्दा दूरदृष्टी आवश्यक रहेको उल्लेख गरे । आजका लागि नभइ भावी पुस्ताका लागि पनि आधार र जग बन्ने गरी पूर्वाधार निर्माण जरुरी रहेको उनको भनाइ थियो । “कुनै पनि विकास निर्माण काम गर्दा आजका लागि होइन्, पछिल्लो पुस्ताका लागि पुग्ने गरी काम गर्नुपर्छ”, उपप्रधानमन्त्री खड्काले भने।

उपप्रधानमन्त्री खड्काले राजनीति गर्नेहरु लोभ, डर, स्वार्थबाट मुक्त हुँदै पारिवारिक घेराभन्दामाथि उठेर सिङ्गो देशका लागि काम गर्ने भावनाप्रति समर्पित हुन जरुरी रहेको बताए । “अहिलेको नयाँ परिस्थितिले त्यो खालको राजनीतिक सोच, प्रतिबद्धता र संकल्पको आवश्यकता ठानेको छ”, उनले भने, “राजनीतिक, भौगोलिक र सामाजिक चुनौतिहरु सामना गर्नका लागि राजनीति गर्नेमा इमान, निष्ठा र समर्पणको आवश्यकता छ ।”

उनले लोभबाट मुक्त हुनेहरु डरबाट मुक्त हुने पनि बताए ।

Logo