उपनिर्वाचन चहलपहलः इलाममा रास्वपाले खटायो सांसदको टोली

उपनिर्वाचन चहलपहलः इलाममा रास्वपाले खटायो सांसदको टोली

केन्द्रबिन्दु
70
Shares

विराटनगर। आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको चहलपहल बढेको छ। उम्मेदवारको टुंगो नलागे पनि विभिन्न पार्टीका नेताहरुको भ्रमण बढ्न थालेको छ।

यसै क्रममा निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेता र सांसदहरुलाई परिचालन गरेको छ। रास्वपाले आज इलाम पुग्ने गरी सांसदहरु परिचालन गरेको हो।

उनीहरुले शनिबारदेखि विभिन्न पालिकामा स्थलगत भ्रमण गरी निर्वाचनमा आफ्नो पार्टी र उम्मेदवारको पक्षमा वातावरण बनाउन ६ जना नेता तथा सांसदलाई परिचालन गर्दैछ। उनीहरुले पालिकाका विभिन्न क्षेत्रमा पुगेर स्थानीय बासिन्दासँग छलफल गर्ने जनाइएको छ।

पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई निर्वाचन कमान्डरका रूपमा इलाम क्षेत्र २ मा खटाइएको छ। यसैगरी सांसद सोबिता गौतमलाई जिल्ला सदरमुकाममा रहेको इलाम नगरपालिका, गणेश पराजुलीलाई देउमाई नगरपालिका, अशोक चौधरीलाई चुलाचुली गाउँपालिका, हरि ढकाललाई माङसेबुङ गाउँपालिका, मनिष झालाई माई नगरपालिका र अशिम शाहलाई फाकफोकथुम गाउँपालिकामा खटाइएको पार्टीले जनाएको छ।

संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा नेकपा (एमाले) सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि रिक्त भएको इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुन लागेको हो। उक्त क्षेत्रमा प्रमुख पार्टीहरु नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेलगायत कसैले पनि हालसम्म उम्मेदवारको टुंगो लगाइसकेका छैनन्।

उम्मेदवारको टुंगो नलागे पनि नेताहरुको जिल्ला र सम्बन्धित क्षेत्र भ्रमण बाक्लिएको इलामका सञ्चारकर्मी सोमनाथ अधिकारीले बताए। २०७९ सालको निर्वाचनमा नेम्बाङ नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कासँग एक सय १४ मतको फरकले विजयी बनेका थिए।

नेम्वाङले ३० हजार २० मत पाएका थिए भने खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए। उक्त क्षेत्रमा पहिचान पक्षधर दलहरुले साझा उम्मेदवार दिनेबारे छलफल थालेका छन्। एमालेबाट नेम्बाङका कान्छा छोरा सुहाङ नेम्बाङ, बुद्धिप्रसाद खनाल, रवीन्द्र सुवेदी उम्मेदवारको चर्चामा छन्। यस्तै, कांग्रेसबाट जिल्ला सभापति खड्का, नेताहरू भेषराज आचार्य, पूर्वराज्यमन्त्री केशव थापा, संविधानसभा सदस्य नगेन्द्र कुमाललगायतको चर्चा छ।

Logo