अध्यक्ष ओलीले भने- ‘मैले भनेको प्रधानमन्त्रीले मान्नुपर्छ’

अध्यक्ष ओलीले भने- ‘मैले भनेको प्रधानमन्त्रीले मान्नुपर्छ’

केन्द्रबिन्दु
350
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसँग आफ्नो भेट भइरहने हुँदा समस्या भए सुनाउन आग्रह गरेका छन्।

आज नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सातौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उनले पुस्तक व्यवसायमा देखिएका समस्याहरु ‘मलाई भन्दा पनि हुने’ भन्दै प्रधानमन्त्री आफूले भनेको मान्ने गरेको बताएका हुन्।

उनले भने,‘तपाईंहरुले सरकारलाई भन्नु पर्ने कुरा मलाई भन्दा पनि हुन्छ किनभने प्रधानमन्त्रीसँग मेरो भेट भइरहन्छ। मैले भनेको प्रधानमन्त्रीज्यूले खानु पनि हुन्छ खानु पनि पर्छ।’

अध्यक्ष ओलीले नेपालको अर्थतन्त्र कोभिडले गर्दा होईन, सरकारको ध्यान नभएर कमजोर भएको पनि बताए। उनले भने, ‘देशको अर्थतन्त्र कोभिडपछिको अवस्था कोभिडभन्दा पनि महाकोभिड जुन छ त्यो भ्याक्सिनले हट्नेवाला छैन। कोभिडले अर्थतन्त्र ओरालो लाग्या होइन। कोभिडबाट सबै देशहरु बाहिर निस्किसकेका छन्, हामी भने पोहोर कोभिड भएको हुनाले टाउको दुखेको भनेर बस्छौं। अहिले अर्थतन्त्र कमजोर हुनुपर्ने अवस्था छैन तर ध्यान त्यता तर्फ जानुपर्यो।’

ओलीले भने, ‘म आफ्नो तर्फबाट तपाईंहरुको समस्या समाधान गर्न तपाईंहरुको साथमा छु भन्ने विश्वास व्यक्त गर्न चाहन्छु। सरकारमा हुँदा होस् या नहुँदा होस्, नेपालमा अहिलेको राजनीतिक परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न सक्ने अवस्था छैन। यहाँ त संसदमा पनि नभएको, पार्टी पनि नभएको, एउटा सिट पनि नभएको मान्छे असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर पनि हिँड्छ। संविधानमा त्यस्तो कुनै व्यवस्था छैन। के सपना देख्छ को मान्छेले भनेर भन्न सकिँदैन। राष्ट्रिय मान्यता प्राप्त नभएका दलबाट प्रधानमन्त्री हुन्छ भने आफू किन नहुने भन्ने हो कि, त्यस्तै लाग्छ तर एमाले त्यस्ताभित्र पर्ने होइन। एउटा इतिहास बोकेको देश बनाउने भिजन बोकेको र त्यो कार्यान्वयन गर्ने सामर्थ्य देखाएको संस्था हो।’

Logo