संसदमा अनुभवीहरूलाई लामो निरन्तरता दिनुपर्छः अध्यक्ष तिमिल्सिना

संसदमा अनुभवीहरूलाई लामो निरन्तरता दिनुपर्छः अध्यक्ष तिमिल्सिना

केन्द्रबिन्दु
168
Shares

काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदमा अनुभवहरूलाई लामो निरन्तरता दिनुपर्ने बताएका छन्।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा आइतबार बोल्दै उनले संसद्मा नयाँले सिक्ने र अनुभवीहरूले नै परिष्कृत कानून बनाउन सक्ने भएकाले अनुभवीहरूलाई निरन्तरता दिनुपर्ने बताएका हुन्।

उनले भने,‘संसदमा भनेको अनुभवीहरूले नै त्यसलाई अझ परिष्कृत बनाउने हो। नयाँ पनि आउने तर अनुभवहरूलाई लामो निरन्तरता दिने हो। विश्वका संसदीय अभ्यासमा पनि त्यही छ। हाम्रो अलि केही पटक भएपछि प्रश्न उठ्छ। किनभने हामीले राम्रो कतै गरेनौँ की, गरेकोलाई सम्प्रेषण गरेनौँ की? परिणाम दिनेगरी अनुभवलाई त निरन्तरता दिनुपर्ने हुन्छ। सबै नयाँ भयौँ भने पनि त्यो सभाले खोजे जत्तिको सबै दिन सक्दैनौँ। त्यसैले अनुभवलाई पनि लिँदै र नयाँले पनि सिक्दै समिश्रणमा जाने हो।’

विधि निर्माणमा अझै मेहनत गर्न आवश्यक रहेको उनले बताए। विधि निर्माण गर्दा व्यक्ति र संस्था केन्द्रित भएर गर्दा टिकाउ नहुने भन्दै सिंगो देश र जनताको फाइदामा हुनेगरि गर्न आवश्यक उनको भनाइ छ।

विधि निर्माणमा अझ मेहेनत गर्ने लाग्ने त्यसका प्रत्येक पक्ष दुरगामी, यहाँ अहिले के छ भने विधि निर्माणमा व्यक्ति र एउटा संस्था केन्द्रित भएर निर्माण गर्ने छ। त्यो टिकाउ हुँदैन,’उनले भने, ‘त्यसैले हामीले सिंगो देश र देशको नागरिक दुई चिजलाई केन्द्रमा राखेर देश र आम नागरिकलाई के फाइदा हुन्छ सोच्नुपर्छ मलाई के हुन्छ होइन।’

२०७४ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका अध्यक्ष तिमिल्सिनासहित २० जनाको पदावधि पुरा भएको छ। उनीहरुलाई आइतबार बिदाइ गरिएको हो। कार्यकाल सकिएर बिदा हुनेमा एमालेका नौ, कांग्रेसका चार, माओवादी केन्द्र र एकीकृत समाजवादीका तीन-तीन र जसपाका एक जना सांसद छन्।

Logo