काठमाडौँ। नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण योगदान रहेको बताएकी छन्।
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवसका अवसरमा जिपी कोइराला फाउण्डेशन केन्द्रीय समितिले आज जोरपाटीस्थित अपाङ्गता केन्द्रमा आयोजना गरेको कार्यक्रममा नेतृ कोइरालाले नेपालमा शान्ति स्थापनाका लागि गिरिजाबाबुले खेलेको भूमिका अविस्मरणीय रहेको बताएकी हुन्।
“विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर लोकतान्त्रिक मुलुक निर्माण गर्न गिरिजाबाबुले खेलेको भूमिका महत्वपूर्ण छ, यसलाई नेपाली जनताले बिर्सन सक्दैनन”, फाउण्डेशनकी अध्यक्षसमेत रहेकी नेतृ कोइरालाले भनिन्। नेपाली राजनीतिमा गिरिजाबाबुले दिएको योगदानबारे नयाँ पुस्तालाई जानकारी दिन फाउण्डेशनले काम गरिरहेको उनले उल्लेख गरे।
सो अवसरमा फाउण्डेशनका तर्फबाट जोरपाटीस्थित ‘द्वन्द्वपीडित र असक्षम समाज’ मा रहेका अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न सामग्री वितरण गरिएको थियो। फाउण्डेशनले आज देशभर विभिन्न जिल्लामा रक्तदान, अन्तक्र्रिया, दीप प्रज्ज्वलन, बिरामीलाई फलफूल वितरणलगायत सामाजिक कार्य गरेर कोइरालाको १४औँ स्मृति दिवस मनाएको छ।































प्रतिक्रिया