सरकारले फिर्ता ल्यायाे बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा

सरकारले फिर्ता ल्यायाे बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा

केन्द्रबिन्दु
28
Shares

सरकारले बाँसबारी छाला जुत्ता उद्योगबाट च्याम्पियन फुटवेयरले पाएको १० रोपनी जग्गा फिर्ता ल्याएको छ ।

शुक्रबार भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले मालपोत ऐन २०३४ अनुसार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको जानकारी दिएको हो । डिल्ली बजारका अधिकृत छविराम नेपालीले २०४४ साल भदौ ५ गते ६ रोपनी र २०४४ मंसिर १८ गते पुनः ४ रोपनी जग्गा च्याम्पियन फुटवेयर कम्पनीको नाममा लगेको भेटिएको र त्यसलाई सरकारको नाममा ल्याउने निर्णय भएको बताए ।

हेर्नुहाेस्, पत्र-

यसअघि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउन निर्देशन दिएका थिए। सो क्रममा सांसद विनोद चौधरीसँग बयानसमेत लिइएको थियो ।

गत १८ माघमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो। सिआइबीले तीन महिनाभन्दा बढीको समय अनुसन्धान गरेर उक्त सरकारी जग्गा निजीकरण गरेको फेला पारेको भन्दै तीन जनालाई पक्राउ गरेको थियो । कारखानालाई प्राप्त भएको जग्गामध्ये १० रोपनी जग्गा लिएर त्यहाँ सिजी चाँदवाग रेजिडेन्सी बनाइएको थियो ।

मालपोत कार्यालय डिल्लीबजारले १० रोपनी जग्गा फिर्ता गर्न गत माघ २५ गते च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदवाग रेसिडेन्सी प्रालि) बाँसबारीको नाममा पत्र काटेको थियो । मालपोतले २१ दिनभित्र प्रतिनिधि कार्यालयमा हाजिर हुनू र नआएमा कानुनबमोजिम हुने भन्दै पत्र काटेको थियो । टोखा नगरपालिका–६ का अध्यक्षको रोहबरमा चाँदवागका सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरको नाममा पत्र काटेको थियो । उक्त पत्रको विरूद्धमा सञ्जयले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

Logo