नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ राजनीतिक सहकार्य भएपछि मुलुकमा केही मात्रामा आशाको सञ्चार फैलिएकाे बताएका छन् ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकपछि उपमहासचिव ज्ञवालीले यस्ताे प्रतिक्रिया दिएका हुन् । “हाम्रो पार्टी यस सरकार र सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउँदै समाजमा रहेको निराशा चिर्ने, अवरुद्ध भएका विकास, समृद्धि र सुशासनको प्रक्रियालाई नयाँ गतिदिने र देश राष्ट्रको हितको रक्षा र सम्वद्र्धनमा केन्द्रित भएर लाग्ने पार्टीले ठोस सङ्कल्प गरेको छ”, उनले भने ।
सरकारले पनि त्यही हिसाबले आफ्ना कामलाई अझबढी चुस्त बनाई समस्या केन्द्रित गरी जनतामा भरोसा जगाउने गरी अगाडि बढोस् भनेर एमालेले सुभेच्छा व्यक्त गरेको पनि जानकारी दिए । सो बैठकले मस्कोमा भएको आतङ्ककारी हमलाको निन्दा र भत्र्सना पनि गरेको छ ।
बैठकले पार्टीका नेता ऐन महरलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय पनि गरेको छ । यसअघि महरले केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए । उपमहासचिव ज्ञवालीले नेता महरले पार्टी निष्ठा र इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेकाले पार्टीको विधानअनुसार उनलाई पुनःकेन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरिएको बताए।































प्रतिक्रिया