जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्छः राष्ट्रपति

जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्छः राष्ट्रपति

केन्द्रबिन्दु
98
Shares

चितवन । राष्ट्रपति रामचन्द्र पौडेलले समयअनुसार नेपाली जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।

चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिन्टार जोड्ने त्रिशूली नदीमा बनेको पुलको आज उद्घाटन गर्दै उनले देशको समृद्धिको मुख्य आधार कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको विकाससँगै सुशासनको खाँचो औँल्याएका हुन् ।

राष्ट्रपति पौडेलले केही भएन होइन, केही भएको छ र केही हुँदैन होइन, केही हुँदैछ भन्ने आश र विश्वासको जगमा नेपाली जनताको समयअनुसारको विकासको चाहना पूरा गर्न सबै एक भएर जुट्नुपर्नेमा जोड दिए । लोकतन्त्रप्राप्तिसँगै क्रमशः भएको विकासको गति र त्यसको स्तरोन्नतिलाई यस्ता पूर्वाधारका कामले भविष्यको बृहत्तर विकासको आयामलाई बढावा दिन आशा एवं भरोसा जगाएको उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले माथिल्लो जिम्मेवारीमा बसेकाहरुबाट काम सम्पन्न भएको छ कि स्थानीय जनताको मेहनतबाट मात्रै काम सम्पन्न भएको छ भन्ने कुराको अब मूल्याङ्कन गर्नुपर्नेबेला भएको बताए । “सरकारले धेरै योजनामा धेरै ठाउँमा धेरै बजेट राखेको छ, तर ती योजना अलपत्र छन्, तर जहाँ स्थानीय जनताले मेहनत गरेका छन्, त्यहाँ मात्रै काम सम्पन्न भएका छन्”, उनले भने, “त्यसैले अब मूल्याङ्कन हुनुपर्छ कि माथिल्लो जिम्मेवारीमा बसेकाले काम सम्पन्न गरेका छन् कि स्थानीय जनताको मेहनतबाट मात्र काम सम्पन्न भएका छन् ।”

ठूलो त्याग, बलिदान र सङ्घर्षबाट हामीले नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आत्मनिर्भर नेपाली र समृद्धिसहित विकसित आधुनिक नेपाल निर्माण नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुख्य लक्ष्य भएको बताए । “सफल राजनीतिक आन्दोलनको कार्यभार पूरा गरेपछि अब हाम्रो ध्यान सुशासन, विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्छ, यसमा कहीँकतै द्विविधा हुनुहुँदैन”, उनले भने ।

“म त्यही एजेण्डामा आज पनि उभिएको छु, राष्ट्रपतिमा निर्वाचित भएपछि मैले भनेको पनि छु म राजनीतिमा हात हाल्दिन र विकासबाट टाढा पनि भाग्दिन, अर्थात् देश विकास नै मेरो अभिष्ट तथा अभिभावकीय भूमिका र चाहना हो”, राष्ट्रपति पौडेलले भने । यस अर्थमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रले हामीलाई समावेशी, उदार, एकताबद्ध र समन्वयात्मक हुन प्रेरित गर्ने उनको भनाइ थियो ।

Logo