‘समाजवादको आधार तयार गर्न सत्ता उलटफेर गरेँ’ -प्रधानमन्त्री प्रचण्ड

‘समाजवादको आधार तयार गर्न सत्ता उलटफेर गरेँ’ -प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार गर्नका लागि आफूले सत्ता उलटफेर गरेको टिप्पणी गरेका छन् ।

समाजवादी मोर्चाको ‘नेपाली विशेषताको समाजवाद’ विषयक राजधानीमा मंगलबार आयोजित अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले विगतको गठबन्धनबाट सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सम्भव नदेखेपछि सत्ता फेरबदल गरेको टिप्पणी गरेका हुन् ।

उनले हालै कांग्रेससँगको समीकरण टुटाएर एमालेसहितका चार दलीय गठबन्धन गरेका थिए । उक्त गठबन्धनमा सरकारको नेतृत्व गरेको माओवादीलाई एमाले, जसपा र रास्वपाले सघाएका छन् । अहिलेको गठबन्धनमा प्रभावशाली एमाले र माओवादी नाममा कम्युनिष्ट भएका पार्टी हुन् ।

नयाँ गठबन्धन आवश्यक रहेकोमा उनले जोड दिए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालको आर्थिक विकास र समृद्धि साथै जनतालाई दिएको आशा पुरा गर्न जुन गतिका साथ जानुपथ्र्यो, त्यो गति विगतको गठबन्धनबाट सम्भव नदेखेपछि मैले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसँगै समाजवादको आधार तयार गर्न गठबन्धन परिवर्तन गरेको हुँ । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि, यी तीन वटा विषयलाई गहिरिएर अध्ययन गर्ने हो भने नेपाली विशेषताका आधारमा समाजवाद तयार गर्ने कुरा अन्तरनिहित छ ।’

विभिन्न चुनौतीका बीच आफू प्रधानमन्त्री भएको उल्लेख गर्दै उनले विद्यमान धेरै सीमा र बाध्यताका बाबजुद भ्रष्टाचारविरुद्धको अभियान चलाउने जमर्को गरेको उल्लेख गरे । उनले भने, ‘थुप्रै चुनौतीका बीचबाट यो पटक म प्रधानमन्त्री भएर सुशासन, सामाजिक न्याय र समृद्धिको कोणबाट कामको सुरुवात गरेको थिएँ । सरकारी जग्गा व्यक्तिको नाममा लैजाने प्रवृतिलाई प्रहार गर्ने, तस्करीको प्रवृतिलाई प्रहार गर्ने जमर्को मैले गरेँ ।’

समाजवादको आधार तयार पार्ने विषय कम्युनिष्ट एकताबाट मात्र सम्भव रहेको उनको जिकिर थियो ।

Logo