नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने

नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अविलम्ब फिर्ता लिन माग गरेको छ ।

सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि बुधबार बसेको पदाधिकारी बैठकले संवैधानिक परिषदको गरिमा समाप्त गर्नेगरी अध्यादेश आएको भन्दै तत्काल फिर्ता गर्न माग गरेको हो । बैठकले सरकारले ल्याएको अध्यादेश संविधानको मर्म विपरित भएको ठहर समेत गरेको छ ।

बैठकका निर्णयहरु सुनाउँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले संसद अधिवेशन छलेर संविधानको मर्म विपरित अध्यादेश जारी गरी सरकारले अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र उजागर गरेको बताए। उनले भने, ‘संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धी मंसिर ३० गते जारी अध्यादेश संविधानको मर्म र भावना विपरित रहेको छ । संसद अधिवेशन छलेर संविधानको मर्म विपरित अध्यादेश जारी गरेर वर्तमान सरकारले अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर गरेको छ ।’

अध्यादेश जारी भएपछि हुने कुनैपनि निर्णय कांग्रेस पार्टीलाई मान्य नहुने पनि प्रवक्ता शर्माले बताए। उनले भने, ‘संवैधानिक परिषद्को गरिमा समाप्त गरेर जारी गरिएको अध्यादेश पश्चात कुनैपनि निर्णय भएको खण्डमा भएको वा हुने दुवै स्थितिमा नेपाली कांग्रेस पार्टीलाई मान्य नहुने चेतावनी पनि बैठकले दिने निर्णय गरेको छ । यो अध्यादेश अविलम्ब फिर्ता हुनु पर्दछ भनेर बैठकले माग गरेको छ ।’

कांग्रेसले संघीय संसदको अधिवेशन तत्काल बोलाउन समेत माग गरेको छ । प्रवक्ता शर्माले भने, ‘बैठकले संघीय संसदको अधिवेशन अविलम्ब बोलाउन माग गर्ने निर्णय गरेको छ र संवैधानिक परिषद् सम्बन्धी जारी अध्यादेश एवं अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्नलाई कांग्रेस पार्टीको संसदीय दलको बैठक बोलाउने सम्बन्धी थप छलफल भइरहेको छ ।’

बैठकले संवैधानिक परिषद्सम्बन्धी जारी अध्यादेश एवं अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस संसदीय दल कार्यसमिति बैठक पुस ३ गते बोलाउने निर्णय गरेको छ । गत मङ्सिर २९ को देशव्यापी प्रदर्शनले तनहुँमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको व्यवहार, कोभिड–१९ विरुद्ध सरकारको काम कारवाहीविरुद्ध व्यापक जनअभिमत प्रकट गरेको निष्कर्षसहित बैठकले सहभागी सबैमा बधाई ज्ञापन गरेको उनले बताए।

बैठकले उखु किसानको माग सुनुवाइ गरेर उखुको बक्यौता अविलम्ब चुक्ता गर्न, गराउन आवश्यक पहल र समन्वयका लागि सरकारसँग माग गरेको छ ।

Logo