रवि लामिछानेको टाउको दुखाई बन्यो कांग्रेस, कोशी सरकारकाे दिनगन्ती सुरु[भिडियोसहित]

रवि लामिछानेको टाउको दुखाई बन्यो कांग्रेस, कोशी सरकारकाे दिनगन्ती सुरु[भिडियोसहित]

केन्द्रबिन्दु
42
Shares

गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणमा चार शिर्ष दलको छलफल
सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबीन गर्न संसदीय समिति गठन गर्ने-नगर्ने भन्नेबारे सत्तापक्ष र प्रमुख प्रतिपक्षले आफ्नो अडान कायमै राखेका छन् । सभामुखको कार्यकक्षमा भएको शीर्ष नेतासँगको छलफलमा कुरा नमिलेपछि बाहिरिएका कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कुनै सहमति नभएको भन्दै भोलि संसद् अवरोध भए त्यसको जिम्मेवार सत्तापक्ष हुने चेतावनी दिएका छन् । तर, यता रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सबैभन्दा धेरै भोट पाएको व्यक्तिमाथि कांग्रेसले लगाएको आरोप स्वीकान नसक्ने बताएका छन् । योसँगै भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा दुईपक्षको मुठभेडको अवस्था बन्ने देखिएको छ ।

कोशी प्रदेशमा दुई ठूला दलहरूले पेस गरे दावी
मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएकै दिन कोशी प्रदेशका दुई ठूला दलहरू नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले नयाँ मुख्यमन्त्री बनाउनका लागि दाबी पेस गरेका छन् । आज मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएसँगै नयाँ मुख्यमन्त्री एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई बनाउन प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेका हुन् । कोशीमा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्दा हिक्मतकुमारलाई मुख्यमन्त्री बनाउन एमालेका ४० र माओवादीका १३ गरी ५३ सांसदले हस्ताक्षर गरेर दाबी प्रस्तुत गरेका हुन् ।

सुदूरपश्चिमकी सांसद इन्दिरा गिरी पदमुक्त
सुदूरपश्चिम प्रदेशकी सांसद इन्दिरा गिरी पदमुक्त भएकी छिन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट प्रदेश सांसद रहेकी गिरीलाई सभामुख भीम भण्डारीले पदमुक्त गरेका हुन् । पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको भनेर प्रदेश सभा सचिवालयमा पत्र पठाएकी थिइन् । सोही अनुसार उनलाई पदमुक्त गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

संसदको विशेष अधिवेशन बोलाउन सिफारिस
एमाले र माओवादीले संसदको विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष माग गरेपछि कोशी प्रदेश सरकारले हतारमा डेढ महिनापछि संसद बोलाउन सिफारिस गरेको छ । मन्त्रिपरिषद् मुख्यमन्त्री केदार कार्कीले २०८१ जेठ ११ गते प्रदेशसभा अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन् । विशेष अधिवेशनको माग छल्न हतार हतार मुख्यमन्त्री कार्कीले आफैंले डेढ महिनापछि संसद् बोलाएका हुन् । योसँगै कोशी सरकारमा किचलो देखिने पक्का भएको छ ।

उपचुनावमा कुनै पनि उम्मेदवारविरुद्ध उजुरी परेन
प्रतिनिधिसभा अन्तर्गत इलाम–२ र प्रदेशसभाअन्तर्गत बझाङ–१ (क) मा हुने उपचुनावका लागि उम्मेदवारी दिएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इलाम–२ मा २० र बझाङ १ (क) मा १२ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी दर्ता गराएकाहरू माथि आइतबार उजुरी दिने समय तोकिएको भए पनि कुनै उजुरी नपरेको हो । आज उम्मेदवारको नामावाली प्रकाशन तथा भोलि नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह दिने कार्यसूची छ ।

काठमाडौंको वायु विश्वकै अस्वस्थकर
काठमाडौंको वायु विश्वकै अस्वस्थकर सूचीको तेस्रो स्थानमा परेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार सोमबार काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७३ छ । यो जनस्वास्थ्यको हिसाबले अस्वस्थकर हो । १५१ देखि २०० एक्यूआईलाई रातो रंगले चित्रित गरी ‘अस्वस्थकर’ मानिन्छ । त्यस्तै, पहिलो स्थानमा भारतको नयाँदिल्ली र दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई छ ।

आगो निभाउने क्रममा चार सैनिक घाइते
डोल्पामा वनमा लागेको आगो निभाउने क्रममा चार जना सैनिक घाइते भएका छन् । ठूलीभेरी नगरपालिका–४ मा रहेको मष्टा भवानी सामुदायिक वनमा आगो निभाउँदा देवीदक्त गण ‘क’ का चार सैनिक घाइते भएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । घाइते सैनिकलाई उपचारको लागि डोल्पा जिल्ला अस्पताल लगिएको छ ।

सडकमा माग्दै हिंड्ने अशक्त, अपाङ्गता भएका मानिसलाई काठमाडौं महानगरले नियन्त्रणमा लियो
काठमाडौं महानगरपालिकाले सडकमा माग्दै हिंड्ने अशक्त, अपाङ्गता भएका केही सहयोगापेक्षीलाई नियन्त्रणमा लिएको छ । दरबारमार्ग, महाराजगञ्जमा पैदलयात्रु र सवारी साधनलाई अवरोध गरेको भन्दै नगर प्रहरीले नियन्त्रणमा लिएर उनीहरुलाई महानगर प्रहरी बलको कार्यालय बागदरबारमा राखेको हो । महानगर क्षेत्रभित्र माग्न नपाइने भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए ।

विदेशी लगानीकर्ताले लैजाने लाभांश उल्लेख्य मात्रामा खुम्चियो
चालू आर्थीक वर्षको ८ महिनाको तथ्याङ्कले विदेशी लगानीकर्ताले लैजाने लाभांश उल्लेख्य मात्रामा खुम्चिएको देखाएको छ । गत आर्थिक वर्ष २०७९-८० को तुलनामा ४ अर्ब ८२ करोड रुपैयाँले खुम्चिएको उद्योग विभागले जनाएको छ । तथ्याङ्कअनुसार लगानीकर्ताले चालू आर्थिक वर्ष २०८०-८१ को ८ महिना (साउनदेखि फागुन मसान्त) मा ९ अर्ब १ करोड ८४ लाख रुपैयाँ लाभांश आफ्नो देश लगेका छन् । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ४ अर्ब ८२ करोडले न्यून हो ।

गुन्द्रुकले पायो सरकारी मान्यता
हेटौंडा–१२ घलेगाउँमा रहेको कञ्चनजंघा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन थालेको अर्गानिक गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त गरेको छ । लघु उद्यमीहरूले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौंडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञापत्र दिएको सोमबार उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मोजाम्बिकको नामपुलामा डुङ्गा पल्टिँदा कम्तीमा ९१ जनाको ज्यान गयो
मोजाम्बिकको उत्तरी प्रान्त नामपुलामा डुङ्गा पल्टिँदा कम्तीमा ९१ जनाको ज्यान गएको छ । मोजाम्बिक टापु नजिकै मानिसहरूले भरिएको डुङ्गा पल्टिँदा कम्तीमा ९१ जनाको ज्यान गएको र ३४ जना हराइरहेका सरकारी रेडियो मोजाम्बिकलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । पाँच जना जीवितै भेटिएका छन् भने ज्यान गुमाउनेहरूमा धेरैजसो बालबालिका छन् ।

९ लाख ३२ हजार रुपैयाँबाट एरिका सम्मानित
११ औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्टस क्लब यूएसएको आयोजनामा एसियाली खेलकुद प्रतियोगिताकी रजत पदक विजेता एरिकालाई सात हजार ११ अमेरिकी डलर (९ लाख ३२ हजार चार सय ६३ नेपाली रुपैयाँ) र प्रमाणपत्रबाट सम्मान गरिएको छ । यूएसए ओपन कराँते च्याम्पियनसिपमा भाग लिन अमेरिका पुगेकी एरिकालाई सम्मान गरिएको हो । एरिकाले युएसए ओपन करातेमा १८ देखि २१ वर्षको ६८ केजी तौल समूहमा स्वर्ण र सोही तौलको सिनियर खुलामा रजत पदक जितेकी थिइन् ।

Logo