काठमाडौं ।
नेपाली काँग्रेसले तत्काल संसद बैठक बोलाउन माग गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको नेताहरु सम्मिलित पदाधिकारी बैठकले तत्काल संसद बैठक बोलाउन माग गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठकले यही अवस्थामा संवैधानिक परिषद् बैठकले गरेको निर्णय नमान्ने निर्णय पनि गरेको छ । यस्तै कांग्रेसले बिहीबारका लागि संसदीय दलको बैठक समेत बोलाएको छ । सो बैठक मार्फत सरकारलाई संसद बैठक बोलाउनका लागि दवाव दिने थप रणनीति बनाउने कांग्रेसको तयारी रहेको छ । यद्यपि आजको बैठकमा कांग्रेसले मंगलबार जारी भएको अध्यादेश सरकारले फिर्ता लिने भएपछि विरोधका कार्यक्रम घोषणा नगरेको उल्लेख गरेको छ । संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) अध्यादेश २०७७ जारी भएपछि प्रमुख प्रतिपक्ष दलले आकस्मिक रुपमा बुधबार पदाधिकारी बैठक बोलाएको थियो । पदाधिकारी बैठकमा सरकारको कदमको विरोध गरी सडक र सदनमा थप सशक्त भूमिका देखाउने विषयमा छलफल भए पनि अध्यादेश फिर्ता गर्ने प्रक्रिया सुरु गरेको खबर बाहिरिएसँगै सडक आन्दोलनका विरोध कार्यक्रम तय नगरी बैठक सकिएको हो ।
यस्तै कांग्रेसले आजको बैठकमा मंसिर २९ गते देशभर भएको सरकारविरुद्धको प्रदर्शनको समीक्षा समेत गरेको छ । उक्त प्रदर्शनमा सरकारको अधिनायकवादी, सर्वसत्तावादी र दमनकारी रवैयाविरुद्ध जनमत प्रकट भएको पनि बैठकले ठहर गरेको कांग्रेसले जनाएको छ ।
यस्तै जनता समाजवादी पार्टी (जसपा) ले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन माग गरेको छ । सरकारले मंगलबार ल्याएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश फिर्ता लिएर संसदको अधिवेशन बोलाउनु पर्ने जसपाको माग छ । जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख भए अनुसार सरकारले अध्यादेश तुरुन्त फिर्ता लिई संघीय संसदको हिउँदे अधिवेशन यथाशीघ्र बोलाउनु पर्ने माग अघि सारिएको छ ।
सरकारले ल्याएको अध्यादेशले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको सर्वोच्च निकाय जनप्रतिनिधि संस्था, संघीय व्यवस्थापिका संसदलाई नै उपेक्षा गरी विधिको शासन विपरीत षडयन्त्रपूर्वक ढङ्गले सर्वसत्तावादी तथा आफ्नो स्वेच्छाचारी शासन चलाउन र संवैधानिक निकायहरूलाई नियन्त्रणमा लिन संविधानको भावना र मर्ममाथि प्रहार गरेको जसपाको निष्कर्ष रहेको छ ।





























प्रतिक्रिया