नेकपामा ओली-नेपालको अडानले रोकियो जिल्ला इञ्चार्ज छान्ने काम

नेकपामा ओली-नेपालको अडानले रोकियो जिल्ला इञ्चार्ज छान्ने काम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक विनानिष्कर्ष टुंगिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैंठकमा जिल्ला इञ्चार्ज तथा सह-इञ्चार्ज छनोटको मापदण्डमा विषयमा छलफल भएको थियो ।

मापदण्डका विषयमा नेताहरुबीच मतभेद देखिएपछि नामावली टुंगो लगाउने प्रयास असफल भएको छ । सहमतिको प्रयासमा मंगलबार दुई पटक बैठक बसेको थियो तर, कुनै निर्णय हुन सकेन ।

बैठकमा मन्त्री, सांसद, प्रदेशसभा सदस्य भएकाहरुलाई इञ्चार्ज तथा सह-इञ्चार्ज बनाउने कि नबनाउने भन्नेमा छलफल भएको थियो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल उनीहरुलाई बनाउने पक्षमा छन् ।

प्रदेश कमिटी र जिल्ला कमिटीका अध्यक्ष र सचिव बनाउँदा यो मान्यता खण्डित भइसकेको तर्क गरेका छन् । तर माधवकुमार नेपासहितका नेताहरुले दोहोरो जिम्मेवारी दिन नहुने अडानमा रहे । जसका कारण आजको बैठकले कुनै निर्णय गर्न नसकेको एक नेताले जानकारी दिए ।

छलफलमा अध्यक्ष मध्येका एक पुष्पकमल दाहाल प्रचण्ड भने बीचबीचमा देखिएका छन् । सचिवालय बैठक भोलि फेरि बस्नेगरी स्थगित भएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले छलफललाई भोलि पूर्णता दिएर जिल्ला इञ्चाज तथा सहइञ्चार्ज तोकिने जानकारी दिए ।

नेकपामा नीति तथा विचार, तल्लो तहको एकता प्रक्रिया, राजनीतिक प्रतिवेदन, सरकार सञ्चालनको तरिका, सत्ताको नेतृत्व लगायत विषयमा मतभेद रहेको छ । बैठकको एजेण्डा तय गर्न र उत्पन्न मतभेद मत्थर पार्ने प्रयासमा अध्यक्षद्वय ओली र दाहालले पछिल्ला तीन दिनमा तीन पटक घण्टौँ छलफल गर्दै आएका थिए ।

Logo