प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको सम्मान गर्नु नागरिकको प्राथमिक दायित्व भएको बताएका छन् ।
पोखरामा आजबाट शुरु भएको नेपाल स्काउटको पहिलो राष्ट्रिय रोभर मुट कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, “भारतमा शपथ ग्रहणको पहिलो वाक्य नै संविधानलाई सम्मान गर्छु र पालना गर्छु भन्ने हुन्छ तर यहाँ संविधानको सम्मान गरौं भन्दा आफ्नो अपमान भयो भन्ने ठान्छन् । ” कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले संविधानको सम्मान गर्नुपर्छ भन्दा आफ्नो औकात घटेको ठान्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताएका छन् ।
देशलाई माया गर्नुपर्छ भन्दा आफ्नो पहिचान नै समाप्त भयो भन्ने ठान्ने गरेको बताउँदै प्रधानमन्त्री ओलीले संकिर्ण सोचबाट माथि उठेर व्यापक सोच अंगाल्नुपर्ने बताए । राष्ट्रिय भन्दा जातीय र क्षेत्रीय सोच भएका व्यक्तिहरु हावी भएको बताउँदै उनले एकता भाड्ने कोसिस भएको पनि बताए । नेपाल प्रतिभाशाली व्यक्तिहरु बस्ने भूभाग भएको वताउँदै प्रधानमन्त्री ओलीले हरेक युवापुस्तालाई सक्षम र प्रोत्साहनको अवसर दिलाउन सरकार तत्पर रहेको पनि बताए ।
स्काउट अनुशाषित र कर्मशिल युवाहरु तयार पार्ने अन्तर्रािष्टय अभियान भएको बताउँदै प्रधानमन्त्री ओलीले सभ्य र आधुनिक नेपाल निर्माणमा हातेमालो गर्ने बताए । प्रधानमन्त्री ओलीले कार्यक्रममा उपस्थित सबैलाई सामुहिक प्रतिज्ञा गराउनुका साथै देशैभरीका स्काण्टलाई बनाइएको साझा स्कार्फ पनि सार्वजनिक गरेका छन् ।
युवायुवतीहरुको शारिरिक, बौद्धिक, सामाजिक तथा संवेगात्मक पक्षहरुको विकास गर्ने मुख्य उद्धेश्यसहित कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपालबाट ४ हजार ५ सय जना सहभागि हुनुका साथै भारत, ताइवान, बंगलादेश, फिलिपिन्स, जोर्डन, अमेरिका, बेलायत, मलेसिया, थाईल्याण्ड, इजिप्त, ताइवान, युगाण्डा, लग्जमवर्गलगायतका मुलुकहरुबाट ५ सय जना सहभागि छन् । कार्यक्रममा रोप क्लाईम्बिङ, ओमेगा जम्प, नेट क्रलिङ, ब्यालेन्सिङ बडी, स्विङ बोर्ड, रोप क्रसिङ, टाइगर जम्प, ब्याम्बो वाल्क, टायर वाल, आर्चरी, साईक्लिङलगायतका कार्यक्रमहरु आयोजना हुनेछन् । यसका साथै करियर काउन्सिलिङ, प्यानल डिस्कसन, युथ फोरम लगायतका कार्यक्रमहरु पनि हुनेछन् ।
‘समृद्धिका लागि सहकार्य’ भन्ने नारासहित आजबाट शुरु भएको कार्यक्रम ५ दिनसम्म चल्ने छ।





























प्रतिक्रिया