सभापति देउवाले दिए उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न भएकोमा धन्यवाद

सभापति देउवाले दिए उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न भएकोमा धन्यवाद

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र बझाङमा शान्तिपूर्णरूपमा उपनिर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।

आज एक विज्ञप्ति जारी गर्दै उनले इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ (क) मा शान्तिपूर्णरुपमा उपनिर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद ज्ञापन गरेका हुन्। साथै मतदाताको उत्साहपूर्ण सहभागिताबाट फेरि एकपटक नेपाली नागरिकको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएका पनि उनले उल्लेख गरेका छन्।

सभापति देउवाले उपनिर्वाचनबाट आउने परिणामले मुलुकलाई लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक एवं न्यायपूर्ण समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास लिएको पनि विज्ञप्तिमा उल्लेख छ। “निर्वाचनमा संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नु भएकामा इलाम र बझाङका मतदाताप्रति आभार एवं कृतज्ञता व्यक्त गर्दछु। उपनिर्वाचनमा सक्रिय सहभागिता जनाएर अभिव्यक्त भएको अमूल्य मतले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न थप योगदान पुर्याउने विश्वास छ”, विज्ञप्तिमा उल्लेख गरिएको छ।

Logo