मुलुकलाई समृद्धिको बाटोमा लैजाने ऐतिहासिक जिम्मेवारी पाएको छु: सुहाङ नेम्वाङ

मुलुकलाई समृद्धिको बाटोमा लैजाने ऐतिहासिक जिम्मेवारी पाएको छु: सुहाङ नेम्वाङ

केन्द्रबिन्दु
70
Shares

इलाम । इलाम २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका एमालेका नेता सुहाङ नेम्बाङले सप्तरङ्गी समाजको शक्तिलाई थप बलियो र दरिलो बनाएर समृद्धिको बाटोमा मुलुकलाई लैजाने ऐतिहासिक जिम्मेवारीलाई पूरा गर्ने बताएका छन्।

मंगलबार बिहान शुभेच्छुक, पार्टीका प्रतिनिधि र मतदाताहरुलाई धन्यावाद ज्ञापन गर्दै उनले भनेका छन्,‘हाम्रो समाज इन्द्रेणी जस्तै धेरै रङ मिलेर बनेको छ। सात रङ मात्रै मिलेको इन्द्रेणी त त्यति राम्रो छ, अझ हाम्रो देश त सयौं जातजाति, भाषाभाषी, धर्म, संस्कृति र भूगोलका जनता मिलेर बनेको छ। हाम्रो राष्ट्रगानले भने जस्तै यो सयौं थुङ्गा फूलहरु मिलेर बनेको माला जस्तै छ। यो विविधता हाम्रो सम्पदा हो, हाम्रो शक्ति हो। विविधतायुक्त पहिचान हाम्रो साझा सम्पत्ति, अजस्र शक्ति र सामथ्र्य हो। इलामको निर्वाचनमा यही भावना प्रतिबिम्बित भएको मैले पाएको छु। हाम्रो सप्तरङ्गी समाजको शक्तिलाई थप बलियो र दरिलो बनाएर समृद्धिको बाटोमा मुलुकलाई लैजाने ऐतिहासिक जिम्मेवारी हाम्रो हो।’

उम्मेदवार बन्दै गर्दा आफ्नो जिन्दगीको उर्वर समय पार्टीको बिकास, विस्तार र आन्दोलनका लागि खर्चिनुभएका नेताहरुको भावनालाई शिरमा राख्ने उनले संकल्प गरेका छन्।

नेम्वाङ कांग्रेसका डम्वरबहादुर खड्कालाई ५ हजार ३० मतले उछिन्दै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। नेम्वाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दा कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत पाएका छन्।

यस्तै, पहिचान पक्षधर उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ११हजार ४ सय ५७ मत प्राप्त गर्दा रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत ल्याएका छन। उपनिर्वाचनमा १९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

Logo