अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछुः अध्यक्ष ओली

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछुः अध्यक्ष ओली

केन्द्रबिन्दु
112
Shares

फिक्कल (इलाम) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुहाङ नेम्बाङले सांसदमा विजय हासिल गरेसँगै इलामले थप समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित भएपछि आज इलाम चोकबजारमा आयोजित विजय सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । “तपाईंहरुले युवा नेता सुहाङलाई जिताएर पठाउनुभयो, यसका लागि इलामको जनतालाई धन्यवाद दिन चाहन्छु ”, उनले भने, “अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु ।”

अध्यक्ष ओलीले देशलाई आर्थिकरुपमा समृद्ध बनाउने कार्ययोजना एमालेसँग मात्र भएको दाबी गरे । उनले भने, “मुलुकलाई आर्थिकरुपमा बलियो र समृद्ध बनाउने कार्ययोजना एमालेसँग मात्र छ, अहिलेसम्मको सबै कामको नेतृत्व एमालेले नै गरेको छ ।”

अध्यक्ष ओलीले सुवास नेम्बाङले थालेकाे विकासको अभियानलाई पूर्णता दिनका लागि सुहाङ उपयुक्त पात्र रहेको उल्लेख गरे । उनले सुवास जनताको लागि लड्ने योद्धा भएको स्मरण गर्दै उनका छोरा सुहाङ पनि योद्धा नै भएको दाबी गरे । उनले भने, “सुवास त संविधानको निर्माता, एउटा सांसद, जनताका लागि लड्ने योद्ध हुनुहुन्थ्यो, योद्धाको छोरा पनि योद्धा नै हुन्छ ।”

उनले आफ्ना उम्मेद्वार जिताउन सहयोग गरेको जनाउँदै नेकपा (माओवादी केन्द्र) समेत धन्यवाद दिए । कार्यक्रममा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङले इलामे जनताको लागि इमान र निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाए । “म मेरो बाबुको अपूरो र अधुरो सपना पूरा गर्न राजनीतिमा आएको हुँ, इमान र निष्ठाका साथ जनताको काम गर्नेछु”, उनले भने, “०८४ को निर्वाचनमा एमालेले जनताको घरघरमा भोट माग्नै नपर्ने गरी काम गरेर देखाउनेछु, इलामे जनता र मतदाताको शिर झुक्ने काम कहिले गर्ने छैन ।”

Skip This
Logo