वाक्क भएर राजालाई ‘गेटआउट’ गरेका हौँ – देउवा

वाक्क भएर राजालाई ‘गेटआउट’ गरेका हौँ – देउवा

केन्द्रबिन्दु
0
Shares

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालिन राजाले प्रजातन्त्रसँग हिँड्न नमानेका कारण गणतन्त्र ल्याउनु परेको बताएका छन् ।

देउवाले विगतमा पटकपटक प्रजातन्त्रसँगै राजतन्त्रलाई हिँडाउने प्रयास गरे पनि राजाले प्रजातन्त्र नमानेपछि वाक्क भएर राजतन्त्र फाल्नु परेको बताएका हुन्  ।उनले भने, ‘विसं २००७ देखि नै नेताहरू विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला सबैले प्रजातन्त्रसँगै राजतन्त्रलाई लैजान खोजेकै हो, तर राजाले प्रजातन्त्रसँग हिँड्न मानेन । अन्तिममा वाक्क भएर गेटआउट गरेका हौँ ।’

काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गणतन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘गणतन्त्र एक दशक’ विशेष अन्तरक्रियामा सभापति देउवाले राजाले प्रजातन्त्रलाई सधैँ धोका दिएको उल्लेख गर्दै भने, ‘विसं २०१७ सालमा ‘कु’ गरेर विपीलाई जेल हाल्यो । फेरी लडाइँ लडेर प्रजातन्त्र ल्यायो फेरि राजा ठीक छ भन्यो फेरि ज्ञानेन्द्रले प्रजातन्त्र फाल्यो र मलाई जेल हाल्यो, अरू सबैलाई जेल हाल्यो ।’

काङ्ग्रेसले प्रजातन्त्र छोड्न नसक्ने र राजाले प्रजातन्त्रसँग हिँड्न नमानेका कारण गणतन्त्र ल्याउनु परेको धारणा व्यक्त गर्दै आफ्नो पार्टीले प्रजातन्त्रसँग कहिल्यै सम्झौता नगर्ने बताए । लोकतन्त्रविनाको गणतन्त्रको काम नभएकाले लोकतन्त्रसहितको गणतन्त्रका लागि आफ्नो पार्टीले पुनः एकपटक लड्नुपर्ने बेला भएको बताउँदै सभापति देउवाले लोकतन्त्रसँगै गणतन्त्रलाई हिँडाउनु काङ्ग्रेसको कर्तव्य भएको पनि बताए ।

Logo