कैद मिनाहा माफीमा अब कुनै किसिमको विभेद हुँदैनः गृहमन्त्री लामिछाने

कैद मिनाहा माफीमा अब कुनै किसिमको विभेद हुँदैनः गृहमन्त्री लामिछाने

केन्द्रबिन्दु
56
Shares

नेपालगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताएका छन् ।

बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्ता कारागारको आज उद्घाटन गर्दै गृहमन्त्री लामिछानेले कैदीबन्दीले माफी मिनाहा पाउने कुरा उनीहरूको अधिकारको विषय भएको उल्लेख गरेका हुन् । “कैदीबन्दीको कैद मिनाहा माफीमा राजनीतिक दबाब र आर्थिक चलखेलको गुनासो आइरहेको छ”, उनले भने ।

कारागारमा कैदी जीवन बिताएका कैदीबन्दीलाई समाजमा पुनःस्थापना गर्न आवश्यक भएकामा जोड दिँदै गृहमन्त्री लामिछानेले कारागारलाई यातना गृहका रूपमा नभई सुधार गृहका रूपमा रुपान्तरण गराउन जरुरी भएको औँल्याए ।

“कारागारमा जेल जीवन बिताइरहेका कैदीबन्दीले आफूले गरेको अपराधको सजायभन्दा अन्य थप कुनै पनि सजाय पाउनु हुँदैन”, उनले भने ।

अपराधीले अपराध गरेको भन्दा थप सजाय दिइएमा त्यो अर्को अपराध हुने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले कारागारलाई सुधारगृहका रूपमा रुपान्तरण गर्न मन्त्रालाय लागिपरेको बताए ।

उनले कैदीबन्दीले आफ्नो सजाय भोगिसकेर समाजमा फर्केर जाँदा अझै पनि समाजले स्वीकार गर्न नसकेको उल्लेख गर्दै पारिवारिक तथा सामाजिक जीवन बिताउन परिवार र समाज सचेत हुनुपर्नेमा जोड दिए । “आवाज र पहुँचका आधारमा होइन, असल आचरण र कानुनले तोकेको मापदण्ड पूरा गरेको जोसुकै कैदीबन्दी नियमानुसार छुट्नुपर्छ”, उनले भने ।

गृहमन्त्री लामिछानेले कारागारमा अत्यधिक बल प्रयोग गर्ने गतिविधि नगर्न, अमानवीय गतिविधि नगर्न र आपराधिक क्रियाकलाप नहोस् भन्नेमा सरकार सचेत रहेको उल्लेख गरे ।

Logo