उपनिर्वाचनपछि देखिएको हार्दिकता: ‘बधाई सुहाङ, बधाई एमाले !’

उपनिर्वाचनपछि देखिएको हार्दिकता: ‘बधाई सुहाङ, बधाई एमाले !’

केन्द्रबिन्दु
24
Shares

इलाम । इलाम २ को उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धीका रुपमा रहेका एमालेका सुहाङ नेम्वाङ र कांग्रेसका डम्बर खड्काले बधाई साटासाट गरेका छन्।

खड्काले खादा लगाएर नेम्वाङलाई बधाई मात्र दिएनन् राम्रो काममा सहयोग गर्ने बाचापनि गरे। खड्काले भने,‘इलामको विकास निर्माण, इलामेलीको भरोसा जोगाउनु। नयाँ हुनुहुन्छ, मेरो पनि तपाईंको राम्रो कामलाई साथ सहयोग रहन्छ।’ त्यस्तै सुहाङले पनि हरेक तह र तप्काबाट सहयोग गर्न याचना गरे।

बैशाख १५ गते उपनिर्वाचनका क्रममा भएको मत परिणाम विजयी भएपछि सुहाङ बधाई ग्रहण गर्न व्यस्त छन्। सोही क्रममा शुक्रबार दुई प्रतिस्पर्धीबीच भेट भएको थियो।

डम्बर र सुहाङले शुभकामना आदनप्रदान गरेको फोटो धेरै शुभेच्छुकले सामाजिक संजालमा शेयर गरेका छन्। दुई प्रतिस्पर्धीबीच देखिएको हार्दिकता असल राजनीति संस्कारको नमूनाका रुपमा हेरिएको छ।

एकजना शुभेच्छुक शीलत कार्कीले दुईबीचको हार्दिकतालाई लोकतान्त्रिक संस्कारको गतिलो उदाहरण भनेका छन्। उनले लोकतन्त्रमा हारलाई सहर्ष स्वीकार्न सक्यो भने मात्रै लोकतन्त्र बलियो हुने बताए।

खड्कासँग निकट रहेर काम गरिरहेका शिव थापाले यस्तो शालिनता अनि हार्दिकताको राजनीतिक संस्कार विकास हुनु राम्रो कुरा भएको बताउँदै सार्वजनिक भएको तस्विरबाट उच्च संस्कार, समाजिक सद्भाव, स्नेह प्रष्ट झल्किने बताए।

यसअघि सोही तस्विर सार्वजनिक गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलाम क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङलाई बधाई दिएका थिए। उनले भने,‘लोकतन्त्रको यो आत्मा र यो सौन्दर्यलाई जगाउनु र जोगाउनु हामी सबैको जिम्मेवारी हो।’

‘बधाई सुहाङ नेम्वाङ, बधाई नेकपा एमाले !’ महामन्त्री शर्माले लेखेका छन्। शर्मालेले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङलाई समेत स्मरण गर्दै ‘पिताकोझैँ सालिनता, निष्ठा र निरन्तरता रहिरहोस्, सुहाङलाई शुभकामना र शुभेच्छा।’

वैशाख १५ मा इलाम २ को उपनिर्वाचन तुलनात्मक रुपले स्वस्थ र मैत्रीपूर्ण रूपमा सम्पन्न त भयो नै, परिणामपछि पनि मुख्य प्रतिस्पर्धी दल र उम्मेदवार बीच हार्दिकता जिवन्त रहेको धारणा शर्माले राखेका छन्।

वैशाख १५ गते भएको उपनिर्वाचनमा सुहाङ २७ हजार ७७२ मत ल्याएर विजयी भएका हुन्। कांग्रेस उम्मेदवार खड्का २१ हजार ९४२ मतसहित उपविजेता भएका थिए।

Logo