ओलीको निर्देशनले सुदूरपश्चिम सरकार संकटमा, माधवले अर्को कदम चाले गठबन्धन रहला ? [भिडियाे]

ओलीको निर्देशनले सुदूरपश्चिम सरकार संकटमा, माधवले अर्को कदम चाले गठबन्धन रहला ? [भिडियाे]

केन्द्रबिन्दु
154
Shares

सत्ता साझेदार दल नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारी नेतृत्वको सरकारलाई तत्काल विश्वास नगरेपछि सत्ता गठबन्धनमा पनि विश्वासको संकट पैदा भएको छ ।

एकिकृत समाजवादीका सोडारी नेतृत्व सरकारमा सहभागी हुन एमालेले आनाकानी गरेपछि ६ वैशाखमा मुख्यमन्त्री बनेका सोडारीले मन्त्रिपरिषद्लाई अहिलेसम्म पूर्णता दिन सकेका छैनन् भने अर्कोतिर विश्वासको मत लिन शुक्रबार र शनिबार दुई पटक गरेको प्रयास असफल भएको छ । विश्वासको मत लिने तयारी हुँदै गर्दा एमालेका सांसदहरु काठमाडौं हानिएका थिए । यता एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन हतार नगर्न आफ्ना नेताहरूलाई निर्देशन दिएपछि सोडारीको मुख्यमन्त्री पद धरापमा परेको हो ।

हुन त ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा आफूबाट टुक्रिएर बनेको चार सिटे एकिकृत समाजवादीलाई मुख्यमन्त्री दिन एमाले सुरुदेखि नै तयार थिएन । सोही कारण बरु सात सिटको नागरिक उन्मुक्ति पार्टीलाई प्रदेशको नेतृत्व दिने माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र एमले अध्यक्ष ओलीबीच सहमति भएको थियो । तर, एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिच्किएपछि सत्ता गठबन्धन नै धरापमा पर्ने देखिएपछि एमाले एकिकृत समाजवादीलाई मुख्यमन्त्री दिन बाध्य बनेको थियो । यसमा नाउपा पनि सहमत भयो । तर, यो हदको बार्गेनिङ गरेर मुख्यमन्त्री पाउन सफल एकिकृत समाजवादीलाई अहिले एमालेले विश्वासको मतमा रोक्न खोजेपछि केन्द्रमा सत्ता गठबन्धन भत्काउन र जोगाउन भइरहेका विभिन्न खाले प्रयासमा सुदूरपश्चिमको राजनीतिक घटनाक्रम निर्णायक हुने देखिएको हो ।

तर यसमा केन्द्रको गठबन्धन के हुने निश्चित नभएका कारण पनि सुदूरपश्चिममा एमाले सरकारमा सहभागी नभएको र विश्वासको मत पनि दिन नमानिरहेको अनुमान गर्न सकिन्छ । प्रदेश सभामा मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउन २७ मत जरुरी पर्दछ । प्रदेशमा कांग्रेसका १८, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्रका एक एक सांसद रहेका छन् । जसमा एमालले साथ नदिएको खण्डमा सोडारीलाई विश्वासको मत पुग्दैन । त्यसबाहेक प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टी पनि सुदूरपश्चिममा आधा सत्तापक्ष, आधा प्रतिपक्षजस्तो भएर उभिएको छ।

शीर्ष नेताहरूका सार्वजनिक अभिव्यक्तिहरूले पनि सत्ता गठबन्धनमा आशंकाहरू जन्मिएको प्रष्ट देखिन्छ । माधव नेपाल गठबन्धनभित्रका पनि प्रतिपक्षजस्ता छन् । एमालेसहितको सत्ता गठबन्धनमा उनी असन्तुष्ट र बेचैन छन् । नेपाल र ओलीबीच भनाभन पनि भइसकेको अवस्था छ । यसअघि नेपालले आफू प्रधानमन्त्री बनि पो हाल्छ कि भनेर केही मानिसहरूलाई भतभती पोलिरहेको बताउँदै उनीहरूप्रति धिक्कार छ भनेका थिए । तर, शनिबार मात्रै एमाले अध्यक्ष ओलीले त्यसको जवाफ फर्काउँदै प्रधानमन्त्री खान नपाएर हर्याकहर्याक गरिरहेको टिप्पणी गरेका छन् । यसले पनि सत्ता गठबन्धनको स्वास्थ्य गडबड भएको पुष्टि गर्छ ।

Logo