काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गोप्य छलफल भएको छ । बुधबार बिहान दुई अध्यक्षबीच बालुवाटारमा करिब ३ घण्टा गोप्य छलफल चलेको हो ।
बिहान ९ बजे बालुवाटार पुगेका प्रचण्ड र ओलीबीचको तीन घण्टा गोप्य छलफलपछि उनीहरुले पार्टीका महासचिव विष्णु पौडेललाई पनि बालुवाटार बोलाएका थिए । त्यसपछि ओली प्रचण्ड र महासविव पौडेलबीच त्रिपक्षीय छलफल भएको नेकपा स्रोतले जनाएको छ ।
ओली र प्रचण्डबीच भएको उक्त छलफलमा सरकारका काम कारवाही, नेकपा एकता प्रक्रियामा भईरहेको ढिलाई लगायतका विषयमा छलफल भएको थियो ।
दुई अध्यक्षबीच सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक तथा जेठ १५ मा सार्वजनिक गर्न लागिएको बजेट सम्बन्धमा पनि छलफल भएको बताईएको छ । सरकारले संसदमा पेश गरेका मिडिया काउन्सिल विधेयकमा प्रमुख प्रतिपक्ष दल तथा सञ्चारकर्मीहरु विरोधमा उत्रिएपछि दुई अध्यक्षबीचको छलफललाई निकै महत्वका साथ हेरिएको छ ।
कांग्रेसले उक्त विधेयक फिर्ता लिन माग गर्दै आएको विधेयक पास गरिए सडक र सदन दुवैबाट आन्लोलन गर्ने चेतावनी दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले समेत केही विधेयकमा विवाद बढेपछि कानुनका जानकारहरुसँग छलफल गरेकी छन् ।
नेताहरुबीच छलफलपछि चाँडै नै सचिवालय बैठक बोलाउने विषयमा पनि कुराकानी भएको बताइएको छ । दुई अध्यक्षहरुले मुलुकको समसामयिक राजनीतिक विषयमा पनि कुराकानी गरेका छन् ।































प्रतिक्रिया