काठमाडौं । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खाँनले मुलुकमा सामाजिक–लोकतान्त्रिक अवधारणाको आर्थिक नीति आवश्यक रहेको बताउनुभएको छ। पार्टीले यस वर्ष गणतन्त्र दिवसका अवसरमा आगामी जेठ १५ गते काठमाडौंमा बृहत्सभा गर्न लागेको उनले जानकारी दिए।
प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापतिसमेत रहेका खाँनले पार्टी सुदृढीकरण गर्दै देशलाई नयाँ निकास दिने उद्देश्यले आयोजना हुने उक्त कार्यक्रममार्फत नौलो गणतन्त्र र सामाजिक लोकतन्त्रको आगामी मार्गको शङ्खघोष गरिने बताए। उनले भने,“नौलो गणतन्त्र भनेको संविधान र व्यवस्थाभित्र अभ्यासका क्रममा देखिएका कमीकमजोरीलाई समयमै सुधार गर्दै लैजानु हो।”
वरिष्ठ उपाध्यक्ष खाँनले संविधानमा आर्थिक नीतिमा समाजवाद लेखिएको उल्लेख गर्दै त्यो प्रावधानले सबै कलकारखानादेखि उद्योगधन्दा राज्यले नै सञ्चालन गर्ने, नियन्त्रण र स्वामित्व ग्रहण गर्ने भन्ने बुझाउने उल्लेख गरे।
“समाजवाद धेरै व्यापक विषय हो। नेपालमा हालसम्म पुँजीवादको अवस्था आएको र पुँजीवादी क्रान्ति भएकै छैन। त्यो नभई समाजवाद कसरी सम्भव छ”, उनले भने। हाल अभ्यासमा रहेको समाजावादसम्बन्धी आर्थिक नीति परिवर्तन गरी सामाजिक–लोकतान्त्रिक अवधारणा ल्याउन आवश्यक रहेको वरिष्ठ उपाध्यक्ष खाँनले बताए।
अमेरिका र युरोपका केही मुलुकले आत्मसात् गरेको समाजवाद र पुँजीवाद मिश्रित अर्थव्यवस्था नेपालका लागि उपयुक्त हुनसक्ने उल्लेख गर्दै उनले देशको आर्थिक विकास र समृद्धि हासिल गर्न त्यो बाटोबाट जान सकिने तर्क गर्नुभयो।





























प्रतिक्रिया