कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’ के ?

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’ के ?

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सहकारीको रकम ठगीविरुद्ध संसददेखि सडकसम्म आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय गरिसकेको छ ।

शुक्रबार(भोलि)बाट सडकमा उत्रिने निर्णय गरेको कांग्रेसले आन्दोलनका कार्यक्रमहरु आइतबारदेखि मात्र गर्ने निर्णयमा पुगेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका कांग्रेस सभापतिसँगको छलफलपछि कांग्रेस आइतबार विरोध प्रदर्शन गर्ने निर्णयमा पुगेको हो । यसअघि शुक्रबार विरोध प्रदर्शन गर्ने गरी प्रस्ताव ल्याए पनि आवश्यक तयारी नपुग्ने भन्दै विरोध प्रदर्शनको कार्यक्रम आइतबार गर्न लागिएको केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिइन् । पहिलो निर्णयलाई नै परिमार्जन गर्न बाध्य भएको कांग्रेसको आन्दोलनमा जन सहभागिता कति रहन्छ भन्ने मुख्य सवाल छ ।

सत्ता साझेदर दलहरुले आन्दोलनको सार्थकता र जनसहभागितालाई नजिकबाट नियालिरहेका छन् । अस्थिर प्रदेश र संघीय सरकारको काम कारवाही भोगेर–देखेर अवाक भएका मानिसहरु कांग्रेस नेतृत्वको आन्दोलनमा सहभाभी हुने विषयमा सबैको चासो देखिएको छ ।

कांग्रेसले लामो समयदेखि संसद्मा सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै सदन अवरुद्ध गर्दै आएको छ । बुधबार कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले आन्दोलनका कार्यक्रम थप सशक्त बनाउँदै लैजाने निर्णय गरेको हो । कांग्रेसले आफ्नो निर्णयमा सहकारीका बचतकर्ताको बचत फिर्ता र ठगीमा संलग्नमाथि कारबाही माग गरेको छ ।

मुलुकभरका सहकारीपीडितलाई एकजुट बनाएर कांग्रेसले सडक संघर्ष गर्ने जनाइसकेको छ । त्यसका लागि कांग्रेसले प्रदेश र जिल्ला केन्द्रित कार्यक्रम पनि गर्दै जाने बताएको छ ।

गृहमन्त्री लामिछानेले सहकारीको करोडौं रुपैयाँ अपचल गरेको प्रमाणसहितको तथ्य बाहिर आउँदा पनि नेकपा एमाले र लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू संसदीय छानबिन बनाउनबाट पन्छिँदै आएको आरोप कांग्रेसले लगाएको छ । सहकारी बचतकर्ताको रकम अपचलन गर्नेलाई गृहमन्त्रीमा राखेकामा कांग्रेसको आपत्ति छ ।

प्रदेश र जिल्लाले पनि आ–आफ्नो कार्यक्रम गर्दै जाने तयारी गरिरहेका छन् । सडक आन्दोलनको घोषणा गरिरहँदा पार्टीले गर्ने भनेको संघर्षको औचित्य र आवश्यकता पनि छलफल चलाइरहेको छ । केही नेताहरुले पार्टीले स्पष्ट कार्यदिशा र धारणा बनाउनुपर्ने माग अघि सारिरहेका छन् । युवा नेता कार्यकर्ताहरुले आन्दोलनको औचित्य सोधिरहेका छन् । कांग्रेसका युवा नेता लाओस राईले आन्दोलन संसदीय छानविन समिति, गृहमन्त्रीको राजीनामा वा भ्रष्टाचारविरुद्ध के हो ? प्रष्ट हुनुपर्ने बताए ।

काठमाडौंका सडकमा सहकारी पीडितलगायत अन्य क्षेत्रका व्यक्तिहरुको पनि आन्दोलन रहेको साथै जायज मागमा भएका आन्दोलनहरुमा कांग्रेसले समर्थन नगरेको लगायतका प्रश्नहरु उठिरहेकाबेला आन्दोलनको औचित्यमाथि समीक्षा हुनुपर्ने लेखक समेत रहेका नेता राईले बताए । उनले भने,‘यतिबेला लाल आतंक विरुद्ध, मानव अधिकार हनन र प्रेस स्वतन्त्रता माथि भइरहेको आक्रमणविरुद्ध उत्रिनेबेला छ । दक्षिणपन्थी र घोर दक्षिणपन्थीहरुविरुद्ध उत्रिनु पर्छ । त्यसैले वास्तवमा आन्दोलनको स्पष्ट कार्यदिशा स्पष्ट हुनुपर्छ ।’

कांग्रेसले जेठ १३ गते अपराह्न दिनको २ बजे काठमाडौंको प्रर्दशनीमार्गमा सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरिसकेको छ । पार्टीको काठमाडौं जिल्ला कार्य समितिको आयोजनामा हुने सो प्रदर्शनमा सहभागी हुन पार्टीको भ्रातृ सङ्गठन र सिंगो पार्टी पङ्क्तिलाई सो प्रदर्शनमा उपस्थिति पनि बैठकले आह्वान गरेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेसले संसदीय प्रक्रियालाई मिचेर गलत ढङ्गले अध्यादेशबाट बजेट ल्याउन लागेको, सहकारी ठगीको विरोध र पीडितको पक्ष र प्रेस स्वतन्त्रताको पक्षमा उभिनका लागि आम जनतालाई आह्वान गर्न सो विरोध प्रदर्शनको कार्यक्रम आयोजना गर्न लागिएको पनि उनले बताए ।

Logo