६८ लागे सभामुख घिमिरे, तटस्थताको शुभकामना

६८ लागे सभामुख घिमिरे, तटस्थताको शुभकामना

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । सभामुख देवराज घिमिरे आजबाट ६८ वर्ष लागे । उनको जन्मदिन हो आज । अंग्रेजी पात्रो अनुसार २६ मे १९५६ मा ताप्लेजुंगमा उनी जन्मिएका थिए अर्थात् बिक्रम सम्वत् १३ जेठ २०१३ ।

जन्मदिनको पहिलो दिन कसरी मनाउँछन् सभामुख घिमिरे ! उनी कुनै औपचारिक कार्यक्रम गर्दैनन्, त्यस्तो चलन नै बसेन । राजनीतिक प्राणी भएकाले नियमित भेटघाटमै बित्छ उनका यस्ता अवसरहरु पनि । अहिले प्रतिनिधि सभाको नेतृत्वमा रहेकाले उनको राजनीतिक सम्वाद विगतभन्दा अझ बढी नै हुने गर्छ । अझ अहिलेको पेचिलो अवस्थामा त संसदको गतिलाई सहज बनाउनु नै चुनौतिपूर्ण दायित्व बनेको छ । शीर्ष नेतृत्वसँग परामर्श गरेर यसलाई निकास दिन सभामुख घिमिरे कसरत गरिरहेका देखिन्छन् ।

झापा निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचित प्रतिनिधि एमालेका सुपरिचित नेता हुन् । उनी तत्कालिन गठबन्धनको साझा उम्मेदवार भएकाले प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरीदेवी न्यौपाने उनकी प्रतिद्वन्दी थिइन् । सत्तारूढ गठबन्धनका उम्मेदवार घिमिरे बहुमतबाट सभामुख चुनिएका थिए । प्रतिनिधि सभामा उपस्थित २६८ सांसदमध्ये १६७ ले घिमिरेलाई समर्थन गरेका थिए । न्यौपानेले १०० सांसदको मत पाएकी थिईन् ।

रोचक पक्ष त के थियो भने १ मत कसैले पनि पाएनन्, तटस्थ थियो त्यो मत ! सदा झैं नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल थिए ती तटस्थ मतदाता । केहीदिन अघिको सदनमा पनि उनै प्रेम सुवालले हात उठाएर जनाएको असमति सभामुखको नजरमा परेको थिएन । सदनमा यो एक अनौठो घटना बनेर रह्यो ।

त्यतिबेला ज्येष्ठ सदस्यका हैसियतले प्रतिनिधिसभाको अध्यक्षता गरिरहेका पशुपति शम्शेर जबराले घिमिरे बहुमत पाएर सभामुख निर्वाचित भएको घोषणा गरेका थिए । पूर्व सभामुख सुवास नेम्वाङले घिमिरेलाई सभामुख बनाउन प्रस्ताव गरेका थिए भने माओवादी केन्द्रका हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले समर्थन जनाएका थिए ।

नेपाली कांग्रेससँग गठबन्धन गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसको पनि विश्वासको मत पाएका थिए तर केही समयपछि उनी एमालेतिर सरेपछि विपक्षमा पुगेको कांग्रेसले सभामुख पदमा आफ्नै उम्मेदवार उठाएको थियो ।

शक्तिशाली सभामुख

संविधान र कानुनको अक्षरशः पालना गर्नु त छँदैछ, त्यसबाहेक सभामुखले नैतिकता र इमानदारीको पनि कठोरतापूर्वक पालना गर्नुपर्छ भन्ने मान्यता रहीआएको छ । जननिर्वाचित संस्था प्रतिनिधिसभाको नेता सभामुखको भूमिका केवल सदनमा मात्रै सीमित रहँदैन । संविधानअनुसार विभिन्न संवैधानिक आयोगहरूमा हुने नियुक्तिहरूमा सिफारिस गर्ने संवैधानिक परिषद्को सदस्य समेत रहन्छन् सभामुख ।

संविधानले राष्ट्रपति र उपराष्ट्रपति दुवैको पद रिक्त भएको अवस्थामा राष्ट्रपतिको काम गर्न सक्ने अधिकार पनि दिएको छ सभामुखलाई । प्रतिनिधिसभाका नियमित कार्यसूची बनाउने, संसद्मा दर्ता भएका प्रस्तावहरू अघि बढाउने वा नबढाउने लगायतका काम कारबाहीमा पनि सभामुखको निर्णायक जस्तै भूमिका रहन्छ ।

सभामुखले ६७ हजार ३२० रुपैयाँ मासिक पारिश्रमिक पाउँछन् भने प्रतिमहिना थप ३७ हजार फुटकर खर्च पनि सभामुखलाई संसद सचिवालयले उपलव्ध गराउँछ ।

आजका सभामुख

संसदको नेतृत्व गरेको झण्डै डेढ वर्षको अनुभव सँगालेका सभामुख घिमिरेले आज शुभेच्छुकका शुभकामनाहरु सन्देशहरु आर्जन गरिरहेका छन् । सँगसँगै तटस्थता निर्वाह गर्न असमर्थ भएको भनेर आलोचनाको सुइ उनीतिर तेस्र्याउनेको पनि कमी छैन आज ।

गृहमन्त्री सहकारीको बचत अवैध अपचनलमा मुछिएका विवाद संसदीय छानविन समिति बनाएर अनुसन्धान गरौं भनिरहेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सभामुखसँग उतिसारो प्रशन्न देखिँदैन । अप्रशन्न मात्र छैन कांग्रेस सभामुखसँग, उ त प्रमुख प्रतिपक्षलाई किनारा गरेर तटस्थ रहनुपर्ने भूमिका एकपक्षीय बनाएको भनेर आलोचना पनि गरिरहेको छ उनको ।

भनिन्छ, सामान्य मानिसहरु जन्मदिवसका अवसरमा अनेक किसिमका वाचावन्धन गर्छन् र कसम खानेगर्छन् । विवेकी मानिस भने आफैंलाई नियाल्छ, वितेका दिनको समीक्षा गर्छ र आफ्ना दोषहरु पहिल्याएर तिनलाई नदोहोर्याउने वाचा गर्छ । अनि भविष्यमा गरिने कर्महरु त्रुटीरहित बनाउने भगिरथ प्रयत्न गरिरहन्छ अनि उ कर्मकै कारण माझिँदै जान्छ र परिस्कृत हुन्छ ।

लामो राजनीतिक उतारचढाव भोगेका, निरंकुश पञ्चायती शासनको सास्ती भोगेका र लोकतन्त्र स्थापना निमित्त कठीन मोडहरु पार गरेर जनताले चुनेको सार्वभौम संस्थाको नेतृत्वमा पुगेका नेता घिमिरेले पनि सभामुख भएपछि निर्वाह गरेका आफ्ना भूमिकाको गम्भीर समीक्षा गर्नेछन् । दलीय सम्बन्धभन्दा टाढा बसेर रेफ्रीको जस्तो भूमिका निर्वाह गर्ने अठोटलाई अझ बलियो पार्नेछन् । तटस्थ नरहेको भनी आलोचना गरिरहेको प्रमुख प्रतिपक्षलाई नाजवाफ बनाउन सफल हुनेछन् । आजको दिन सभामुख देवराज घिमिरेका लागि यही नै उपयुक्त शुभकामना हुने छ ।

Skip This
Logo