देशमा भयानक संकटको स्थिति आउन सक्छः अग्नि सापकोटा

देशमा भयानक संकटको स्थिति आउन सक्छः अग्नि सापकोटा

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले यतिबेला भु–राजनीतिक परिस्थितीका कारण मुलुकको अवस्था अत्यन्तै जटिल र पेचिलो बनेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठनको दोस्रो अधिवेशनमा प्रवक्ता सापकोटाले देशमाथि भयानक संकटको स्थिति आउने अवस्था रहेको भन्दै राष्ट्रियताको हिसाबले सबैले आफूलाई तयार पार्नुपर्ने अवस्था रहेको बताएका हुन् ।

उनले भने,‘अहिले भु–राजनीतिको अवस्था अत्यन्तै जटिल छ । पेचिलो छ । आज हाम्रो आँगनमा युद्ध हुँदैछ । त्यसकारण राष्ट्रियताको हिसाबले पनि हामीले आफूलाई तयार पार्नुपर्ने बेला आएको छ । आँधी तुफान आउनसक्ने अवस्था छ । देशमा एउटा भयानक संकटको स्थिति आउन सक्छ । त्यसैले हामीले राष्ट्रियताका लागि र जनताको आर्थिक विकासको लागि पनि तयार हुनुपर्छ ।’

उनले देशमा समाजवादउन्मुख राज्यव्यवस्था लिपिवद्ध गर्न सफल भएतापनि जनताको जीवनस्तर उकास्नेगरी साँचो अर्थमा अनुभुत गर्ने खालको परिवर्तनलाई संस्थागत गर्न चुकेको बताए । विश्व नै दृष्टिविहीन भएको अवस्थामा नेपालमा पनि राष्ट्रिय दृष्टिकोण नबनेको भन्दै उनले राष्ट्रिय दृष्टिकोण बनाउन आवश्यक रहेको बताए ।

प्रवक्ता सापकोटाले नेपालमा वामपन्थीहरु मात्र नभई सबै कम्युनिष्टहरु एकीकरण भएमा मात्र देशमा विकासले गति लिन सक्ने बताए । उनले विज्ञान र प्रविधिको प्रयोग गर्न नसके पुरानो ढाँचाले देशको विकास गर्न नसकिने धारणा राखे ।

Skip This
Logo