काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले शीर्ष नेतृत्वको झगडाको बीचमा पछिल्लो पुस्ताका नेताहरु पिल्सिएको बताएका छन् । उनले समयमै सक्ने जति काम पनि गर्न नसकिएको स्पष्ट पारे ।
आइतबार काठमाडौंमा परिवर्तन नपालले आयोजना गरेको ‘संघीय गणतन्त्रात्मक शासन व्यवस्था विगत र वर्तमानको समीक्षाः आगामी कार्यभार’ विषायक अन्तरक्रियामा नेता पौडेलले अहिलेको व्यवस्था कुनै खतरामा नरहेको तर नेताहरुकै कारण आलोचित बनेको बताएका हुन् ।
उनले भने, ‘संघीय गणतन्त्र खतरामा होइन आलोचनामा छ र खतरामा आउँदैन । मलाई विश्वास छ । यति सजिलै ७० वर्षसम्म नेपाली जनताका छोराछोरीले लडेर ल्याएको गणतन्त्र दुइ चारजना आलोचना गर्ने मानिसहरु सडकमा आउँदैमा खतरामा आउँदैन ।’
नेता पौडेलले व्यवस्थाप्रति आलोचना गरेर अस्थिरता सिर्जना गर्न खोज्नेहरुका विरुद्ध अवस्था आए एमाले, माओवादी,कांग्रेस एक ठाउँमा उभिने दाबी गरे ।
उनले आफूहरु भन्दा अघिल्ला पुस्ताका नेताहरुले झगडामै महत्वपूर्ण समय विताएका कारण पछिल्लो १० वर्षमा काम गर्न नसकेको टिप्पणी गरे । सदन र सरकारका कामको चौतर्फी आलोचना भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले त्यसो हुनुमा शीर्ष नेताहरुले आफ्नो झगडा नछोड्दा सदन र सरकारको कामकारबाही प्रभावित भएको औंल्याए ।
‘नेपाली जनताले संविधान बनाउनकै लागि दुई कार्यकालको जिम्मेवारी नेताहरुलाई दिए । परिवर्तनपछि आन्दोलनका घटना परिघटनालाई नियाल्दै पाँच वर्ष हामीलाई स्वभाविक रुपमा संविधान बनाउन लाग्ने नै थियो । तर, स्थिति जनताले दिएको पाँच वर्षमा पनि २०७२ को संविधान बनेन र अर्को पाँच वर्ष थप गर्नुपर्ने स्थिति बन्दा त्यो समय खेर गयो,’ उनले भने ।
उनले नेपाली जनताले आलोचना गर्नुपर्ने कारण उल्लेख गर्दै थपे, ‘तपाईले गरेको आलोचना यहाँ सुरक्षित छ । ०७२ सालमा संविधान बनिसकेपछि अहिले जे जति भैरहेका छन्, आर्थिक अवस्थादेखि विकास निर्माण, कानून निर्माणको अवस्था, सदनकै अवस्था हेर्नुहोस पछिल्लो समय । यस प्रकारका जिकज्याक र झगडाको विचबाट पछिल्लो पाँच वर्ष पनि हामीले वितायौं । संविधान बनाउने बेलाको पाँच वर्ष र पक्कै पनि आलोचनाको विषय हो र यो समय खेर गयो ।’
उनले मञ्चमा रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलातर्फ संकेत गर्दै एक स्टेप माथिको पुस्ताले गरेको गल्तीको भागीदार आफूहरुले व्यहोर्दै आएको र नेतृत्वलाई सघाउनुपर्ने बाध्यतामा परेको जिकिर गरे । ‘युवा पुस्ताले विद्यमान परिस्थितिलाई ध्यानमा राखेर हामी र कृष्णजी भन्दा एक स्टेप माथिका नेताहरुलाई भन्न जरुरी छ । हामी समर्थन नगरौं गरेर आएको नेतृत्व हुन् । विरोधमात्रै गरेर हिँड्नेहरुले पनि गरिखाएको देखिएको छैन । अब समर्थन गरौं उहाँहरु झगडा गरिरहनु हुन्छ । फेरि कहिलेकाँही मिल्नु पनि हुन्छ । त्यो कारणले समयमै काम हुन सकेन,’ नेता पौडेलले भने ।
उनले प्रवृतिले व्यवस्था खतराको रुपमा भन्दा आलोचनाको रुपमा बढी आएको बुझेको धारणा राखे । उनले व्यवस्थाप्रति खतरा भने नरहेको उल्लेख गरे ।































प्रतिक्रिया