काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर बालेन शाह परिवर्तनका लागि कुनै नयाँ कामको थालनी गर्छन तब भिलेन बनेर सधैं अघि आउने एक मात्र तत्व अदालत बन्ने गरेको छ ।
कुनै राजनीतिक दल न त संघीय सरकारले भनेको नमान्ने बालेन अदालतका अघि भने सधैं निरिह देखिदै आएका छन् । काठमाडौं महानगरपालिका भित्र रहेका सामुदायिक विद्यालयले भाडामा लगाएका सटर बन्द गराएर वाहवाही कमाएका बालेन फेरी अदालतको आदेशपछि रोकिएका छन् । सबैलाई स्वतन्त्र मेयरको शक्ति कस्तो हुन्छ ? गरे के हुँदैन ? भनेर देखाउँदै आएका बालेन अधिकांश समय अदालतको आदेशका अघि फिका हुने गरेका छन् ।
काठमाडों महानगरले आइतबारदेखि सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरूमा ताला लगाउँदै आएको थियो। जसअन्तर्गत महानगरपालिकाले २७ वटा सामुदायिक विद्यालयका तीन सय ४० वटा सटरमा ताला लगाएको थियो। तर मंगलबार तुलसीप्रसाद अगस्तीले दिएको रिटमा उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेलको इजलासले सटर बन्द नगर्न अन्तरिम आदेश दिएपछि शिक्षामा सुधारको नारा दिएर अघि बढिरहेका मेयर बालेनको स्पिड्मा एकाएक ब्रेक लागेको छ ।
उच्च अदालत पाटनले ‘दुवै पक्षको बहस सुनेर मात्र अन्तरिम आदेश गर्ने कि नगर्ने टुंगो लगाउने भएकाले शो दिनसम्म महानगरपालिकाले बलजफ्ती विद्यालयका सटर बन्द गर्ने गराउने काम नगर्नु भन्ने आदेश दिएको छ । यो त पछिल्लो अपडेट मात्र हो ।
यसअघि मेयर बालेनले दक्षिण भारतीय चलचित्र आदिपुरुषको डायलगमा गलत सुचना सम्प्रेश्रण गरेको र इतिहासलाई तोड्मोड गरि बनाएको भनि महानगरभित्रका हलमा हिन्दी फिल्म चल्न रोक लगाएका थिए । तर त्यसमा पनि उच्च अदालत पाटनले फिल्म नरोक्न आदेश दिएपछि बालेन पछि हटे । यसैगरी अहिले महानगरमा चुरोटसहित सुर्तिजन्य पदार्थ बिक्रीमा रोक लगाएका बालेनको निर्णयलाई फेरी पनि उच्च अदालत पाटनले नै कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
नर्भिक अस्पतालले भाडामा लिएर नक्सा पास बिनै बनाएको संरचना भत्काउन लागेका बालेनलाई अदालतले पटक–पटक रोक्दै आएको छ । अर्कोतर्फ टुकुचा खोतल्न लाग्दा पनि पूर्ण फैसला नभएसम्म संरचना नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन आदेश दिएपछि बालेन रोकिए । त्यस्तै, केन्द्र सरकारले महानगरलाई फोहोर व्यवस्थापनमा असहयोग गरेको भन्दै सिंहदरबारदेखि शीतल निवाससम्मको फोहोर नउठाउने निर्णय गरेका बालेनलाई सर्वोच्चको निर्देशनले पछि हट्न बाध्य पारेको थियो । यसरी हेर्दा मेयर बालेनको काममा पटक–पटक अदालत नै मुख्य बाधक बन्दै आएको देखिन्छ ।
परम्परागत दल, भ्रष्टाचारी र परिवर्तनको बिगुल बजाउदै अघि बढिरहेका मेयर बालेनको लोकप्रियता र कामबाट आत्तालिएका तत्वहरु बालेनविरुद्ध पूर्वाग्रह राखेर मुद्धा हाल्ने श्रृंखला निरन्तर नै चल्ने गरेको छ । मेयर बालेनले आफ्नो क्षेत्राधिकारलाई कानुनी दायरामा ल्याउन खोज्दा महानगरपालिकाले एकपछि अर्को मुद्धा खेप्दै आएका छन् । तर, जतिसुकै मुद्धा परेपनि मेयर बालेन आत्तिएका छैनन् । बरु उनको लोकप्रियता र सफलताबाट राजनीतिक दलको पसिना भने पक्कै छुटेको छ ।





























प्रतिक्रिया