सबै काण्डको अन्तमा देउवाको इन्ट्री

सबै काण्डको अन्तमा देउवाको इन्ट्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमको वाइडबडी जहाज खरिदका क्रममा ४ अर्ब ३५ करोड अनियमितता भएको ठहर गर्‍यो । लेखा समितिले वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको प्रतिवेदनसहित त्यसमा संलग्नहरूलाई कारबाही गर्न अख्तियार र सरकारलाई पुस २३ गते निर्देशन समेत दियो ।

लेखा समितिले उक्त प्रकरणमा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, तत्कालिन पर्यटनमन्त्री रबीन्द्र अधिकारी, पूर्वमन्त्री, पूर्वसचिव लगायतलाई कारवाही गर्न निर्देशन दियो । अनुसन्धानकै क्रममा उक्त प्रकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि मुछिए । उनी प्रधानमन्त्री हुँदा नै बाइडबडी जहाज खरिदबारे निर्णय भएको थियो । त्यो बेला उनी नै कार्यवाहक पर्यटनमन्त्री थिए ।

पुस दोस्रो साता वाइडबडी प्रकरणमा संसददेखि सडकसमेत तात्यो । पछिल्लो समय यो प्रकरणमा सत्तारुढदेखि प्रतिपक्षसम्म तैँचुप मैचुपको अवस्थामा पुगेका छन् । संसदमा केही दिन वाइडबडीको विषय उठाएर चर्को स्वरमा खबरदारी गरेका प्रतिपक्षी कांग्रेसका सांसदहरू आफ्नै सभापति शेरबहादुर देउवाको समेत नाम जोडिएपछि चुपचाप बसे । जुन प्रकरण अहिले सिथिल बनेको छ । तर अख्तियारले भने अनुसन्धानको क्रममा रहेको जनाएको छ ।

यतिबेला अर्को चर्चामा आएको विषय हो, बालुवाटारस्थित ललितानिवास जग्गा किनवेच प्रकरण । यो प्रकरणमा सत्तारुढ दल नेकपा महासचिव विष्णु पौडेल प्रमुख पात्र बनेका छन् । उनले ललितानिवासमा छोराको नाममा ८ आना जग्गा किनेपछि उनी यो प्रकरणमा प्रमुख पात्र बनेका हुन् । जग्गा प्रकरणबारे सरकारले छानविन गरिरहेको छ ।

छानविनकै क्रममा विभिन्न व्यक्तिहरु यो प्रकरणमा मुछिने क्रम जारी छ । तीन पूर्व प्रधानमन्त्रीहरु पनि यो काण्डमा मुछिएका छन् । पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र शेरबहादुर देउवा यो प्रकरणमा मुछिएका हुन् । उनीहरुकै मन्त्रिपरिषद्को निर्णयले ललितानिवास जग्गा किनबेचलाई बल पुगेको देखिन्छ । ति मध्ये दुई पूर्वप्रधानमन्त्रीहरुले स्पष्टिकरण समेत दिएका छन् । माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले आफु दोषी ठहरिए कारवाही भोग्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।

कांग्रेस सभापति देउवा नेतृत्वको तत्कालीन गृह मन्त्रालयले अध्ययनविना मालपोतलाई पत्र पठाउँदा बालुवाटारको ११३ रोपनी जग्गा व्यक्तिका नाममा गएको देखिएको छ । देउवाले सोमबारको संसद बैठकमा बोल्दै बालुवाटार भूमाफियाको कब्जामा पुग्दा सरकार ढाकछोप गर्न लागेको आरोप लगाएका थिए । संसदमा कड्किदै देउवाले भनेका थिए, ‘बालुवाटारको सरकारी जग्गा भूमाफियाको कब्जामा पुग्दा सरकार ढाकछोप गर्दै छ ।’

वाइडबडीमा भ्रष्टाचार भयो भन्दै संसद्मा आवाज उठाउने देउवाको तन्तु वाइडबडी खरिदमै जोडिएको थियो । त्यसपछि त्यो प्रकरणबारे देउवासहित उनको पार्टी कांग्रेस चुप बस्यो । बालुवाटारको जग्गाको विषयमा पनि देउवाले सोमबार संसद्मा आवाज उठाए, तर यो जग्गा व्यक्तिका नाममा जान देउवाको जिम्मेवारी देखिएको छ । अब यो प्रकरणमा पनि देउवासहित उनको पार्टी कांग्रेस चुप लाग्ने छनक देखिन्छ ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भने देउवापनि दोषी भए कारवाही गर्नुपर्ने बताएका छन् । सरकारी जग्गा किनबेचमा देउवाको संलग्नता देखिए उनलाई पनि कारवाही गर्नुपर्ने बताएका हुन् । यसरी विभिन्न घटनालाई केलाउँदा प्रकरणको अन्तमा देउवा मुछिएकै छन् । जुन प्रकरणमा देउवा मुछिन्छन्, त्यो प्रकरण त्यक्तिकै सिथिल हुन्छ । अर्थात त्यसलाई सबै मिलेर लुकाउने प्रयास गर्दै आएका छन् ।

Skip This
Skip This
Logo