न्यायाधीश नियुक्ति समयमै हुने कानुन मन्त्री गिरीको दाबी

न्यायाधीश नियुक्ति समयमै हुने कानुन मन्त्री गिरीको दाबी

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले अदालतमा रिक्त न्यायाधीशको दरबन्दी समयमै नियुक्ति हुने बताएका छन्।

प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफलमा उठाइएका विषयमा मन्त्री गिरीले जवाफ दिदैँ अदालतमा रिक्त रहेका न्यायाधीशको दरबन्दीमा समयमै पदपूर्ति हुने बताएका हु्न्।

“अदालतहरुमा रिक्त दरबन्दीमा पदपूर्ति गर्ने विषयमा सरकार गम्भीर छ”, मन्त्री गिरीले भने, “न्याय परिषद् सदस्यको हैसियतमा छिटोभन्दा छिटो न्यायाधीश नियुक्ति प्रक्रियालाई अगाडि बढाइ निष्पक्ष र सक्षम न्यायाधीश नियुक्ति गरी अदालतमा भएको मुद्दाको चापलाई घटाइ नागरिकलाई छिटोछरितो न्याय निरुपण गर्ने कुरामा विश्वास दिलाउन चाहान्छु।”

न्यायाधीश नियुक्ति प्रक्रियालाई निष्पक्ष, पारदर्शी बनाउन तथा अनुभवी, विज्ञ, योग्य र निष्ठावान् न्यायाधीश नियुक्ति हुनुपर्ने विषयमा न्याय परिषद् स्पष्ट र प्रतिबद्ध भएको उल्लेख गर्दै उनले भविष्यमा न्यायाधीश नियुक्तिको विषयमा प्रश्न नउठ्ने गरी काम गर्ने बताए।

“मिडिया ट्रायलको आधारमा मुद्दा निरूपण हुने प्रश्नको सम्बन्धमा नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायालयको व्यवस्था गरेको हुँदा मिडिया ट्रायल वा अन्य कुनै आधारमा विवादको न्यायिक निरूपण हुन नसक्ने व्यहोरा अनुरोध गर्दछु”, मन्त्री गिरीले भने, “तीन तहको न्यायिक संरचनामा तल्लो अदालतले गरेको न्यायिक निर्णयको माथिल्लो अदालतबाट पुनः परीक्षण गर्न सकिने कानुनी तथा संवैधानिक व्यवस्था रहेको सन्दर्भमा अदालत तथा न्यायिक निकायको विश्वसनीयतामा थप आशंका नगर्न आग्रह गर्छु।”

नेपालको संविधान बमोजिम बनाउनुपर्ने कानुनको विषय उठान गर्नुभएको प्रश्नको सम्बन्धमा संविधान जारी भए पश्चात कानुन निर्माणलाई मन्त्रालयले मुख्य प्राथमिकतामा राखेर काम कारबाही अगाडि बढाएको जानकारी गराए।

Skip This
Skip This
Logo