कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको १५औँ बैठक बस्नुपूर्व बिहीबार प्रदेशसभा सदस्यहरु भवन परिसरमा एक आपसमा गफ गरिरहेका थिए। उनीहरुको गफ आर्थिक वर्ष २०८१/०८२ को विनियोजित बजेट र त्यसको सन्तुलन तथा समन्यायिकतामा केन्द्रित थियो।
उनीहरू गफीइरहेका बेला सभाबैठक प्रारम्भ भएको जनाउ दिने घण्टी बज्यो, सबै प्रदेशसभा सदस्यहरू बैठक कक्षमा प्रवेश गरे। त्यहाँ पुगेपछि मर्यादापालक महिला प्रहरीले सभामुख र सम्पूर्ण सभा सदस्यलाई सधैँझैँ अभिवादन गरे। राष्ट्रिय गान बज्यो। सबैले आफ्नै स्थानमा उभिएर राष्ट्रिय गान गाए। त्यसपश्चात् सबै आ–आफ्नो स्थानमा बसे। जब सभामुख नन्दा गुरुङले ‘अब बैठकको कारबाही प्रारम्भ हुन्छ’ भने तब प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरू चुपचाप एकाएक बाहिरिए।
सभामुख गुरुङ र सत्तापक्षका प्रदेशसभा सदस्य उनीहरू बाहिरिएको टुलुटुलु हेरिरहे। बैठककक्षमा रहेका सदस्यले केही बेरसम्म मुखामुख गरिरहे। प्रतिपक्षी दलका सदस्य नै नभएपछि बैठक सञ्चालन हुने अवस्था रहेन। त्यसपछि बैठक सभामुखले बैठक स्थगन भएको घोषणा गरे।
सभामुखका अनुसार प्रदेशसभाको अर्को बैठक असार १२ गते बुधबार दिउसो ३:०० बस्नेछ।





























प्रतिक्रिया