नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रेसकै सहयोगले आफू अहिलेको स्थानमा आएको बताएका छन् । पत्रकार महासंघले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष प्रचण्डले प्रेस स्वतन्त्रताका विषयमा आफू गम्भीर भएको बताए ।
ज्ञापनपत्र बुझ्दै प्रचण्डले भने, ‘राजनीतिक नेतृत्व र सरकारको पनि ध्यान केन्द्रित गर्न खोज्नुभएको छ । त्यसका लागि महासंघलाई धन्यवाद दिन्छु । तपाईंहरुको गम्भीर मागलाई सम्बोधन गर्ने मेरो प्रयास हुनेछ । प्रेस स्वतन्त्रताका लागि सरकारले लिनुपर्ने दायित्वका विषयमा मेहनत गरेर ध्यानाकर्षण पत्र तयार पार्नुभएको मैले पाएँ ।’
शान्ति, परिवर्तन र सुशासनको पक्षमा प्रेसले खेलेको भूमिकाका विषयमा आफू धेरै जानकार रहेको भन्दै प्रचण्डले प्रेस स्वतन्त्रताका लागि आफूले सक्दो भूमिका खेल्ने बताए । ‘अहिले हामी नयाँ ठाउँमा छौं । बलियो सरकार बनेको छ । जेलनेल सबै भोगेकाहरुकै नेतृत्वमा सरकार छ । हामीहरुले पनि विभिन्न हन्डर ठक्कर खाएर प्रेसलाई गुहार्ने गरेका छौं । त्यसैले पनि प्रेस स्वतन्त्रताको मुद्दा हामी सबैको हो,’ प्रचण्डले भने ।
संविधान मस्यौदा गर्दा अलिबढी प्रेस स्वतन्त्रताको पक्षमा नै छलफल भएको भन्दै प्रचण्डले अहिले कानुन बनाउने विषयमा र नयाँ कानुन संसदमा पेस गर्ने विषयमा सरोकारवाला निकायसँग छलफल भएन भन्ने सञ्चारकर्मीको गुनासोलाई पुनः छलफल गर्ने पनि प्रचण्डले बताए ।उनले भने, ‘तपाईंहरुले सञ्चारमन्त्रीलाई भन्नुभएको छ । मसँग कुराकानी भयो । मिलेसम्म प्रधानमन्त्रीलाई पनि भेट्नुहोस् । म आफैं पनि सरकारसँग पार्टीसँग गम्भीर भएर कुराकानी गर्नेछु ।’
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता, प्रेसमैत्री कानुन निर्माणलगायतका १६ बुँदा समेटिएको ध्यानाकर्षण पत्र प्रचण्डलाई बुझाएका हुन् ।































प्रतिक्रिया